
२३ साउन काठमाडौँ। सरकारले लामाे समयदेखि बन्द भै जिर्ण अवस्थामा रहेकाे हेकाे हेटाैडा कपडा उद्योग परीक्षणकाे रुपमा पुनः सञ्चालनमा ल्याएकाे छ ।
वर्षौँदेखि बन्द, घाटा र व्यवस्थापकीय समस्याले थलिएका राष्ट्रिय उद्योग तथा संस्थानलाई इमान्दार प्रयास, कानुनको प्रभावकारी कार्यान्वयन र
निरन्तरको सामूहिक प्रयासबाट पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने आशालाग्दा परिणाम देखिन थालेका छन्।
नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखानामा पछिल्लो समय सुरु गरिएका
सुधारका प्रयासले रुग्ण सरकारी उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको देखाएको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनुभएको छ।
प्रधानमन्त्री शाहले आज बिहान सामाजिक सञ्जालमार्फत राष्ट्रिय उद्योग तथा संस्थानमा देखिएका सुधार र प्रगतिबारे जानकारी दिँदै नियत सफा राखेर
जिम्मेवारीप्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताउनुभएको हो।
उहाँका अनुसार नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएको छ।
इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’का कारण केही उद्योग तथा संस्थानमा आशालाग्दा परिणाम देखिन थालेको उहाँको भनाइ छ।
वर्षौँसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा रु.२ करोड ३८ लाख बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको जनाइएको छ।
कम्पनीले गत आर्थिक वर्षमा रु.३ करोड नाफा आर्जन गरेको छ भने चालु आर्थिक वर्षमा रु.३० करोड बराबरको औषधि बिक्री गर्ने लक्ष्य लिएको छ।
सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ।
यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारको उत्पादन तयारी अन्तिम चरणमा पुगेको छ। हाल लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गरिरहेको छ।
वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा अघि बढेको छ। उद्योगको परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ भने परीक्षण उत्पादनपछि नेपाल सरकारले नै उद्योग सञ्चालन गर्ने योजना बनाएको छ।
तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत थालिएको जनाइएको छ।
नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख बढी हो।
यस अवधिमा नेपाल एयरलाइन्सको सिट उपयोगिता अर्थात् अकुपेन्सी ८६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो ।
जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख किस्तासमेत सोही अवधिमा भुक्तानी गरिएको छ।
दुग्ध विकास संस्थानले किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारेको छ।
यसअघि ७२ करोड रहेको बक्यौता अहिले ३५ करोडमा झरेको जनाइएको छ।
किसानलाई दूधमा प्रतिलिटर रु.१ प्रोत्साहन रकम थप गरिएको छ। सुधारका प्रयास सुरु भएपछि संस्थानको दैनिक बिक्री ३५ प्रतिशतले बढेको छ भने औसत दैनिक राजस्व ६० लाखबाट बढेर ९० लाख पुगेको छ।
कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक करिब ३ करोड बचत गरिएको छ।
डीडीसीले खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको छ। नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारीसमेत भइरहेको छ।
सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएयता ११ करोड १६ लाख बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको छ।
गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो।
वैद्यखानाले निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा प्रगति गरेको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ।
यसै वर्ष पाउडर तथा ट्याब्लेट औषधि उत्पादनमा जिएमपी मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत राखिएको छ।
सरकारले रुग्ण अवस्थामा रहेका राष्ट्रिय उद्योग तथा संस्थानमा देखिएको सुधारलाई सकारात्मक सुरुआतका रूपमा लिएको छ।
यी उपलब्धिले इच्छाशक्ति, इमान्दार प्रयास र प्रभावकारी व्यवस्थापनका साथ अघि बढ्दा लामो समयदेखि समस्याग्रस्त राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिने विश्वास बलियो बनाएको छ।
प्रधानमन्त्री शाहले इमान्दारी र देशप्रतिको समर्पण कायम रहिरहेमा अन्य रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानमा समेत नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गर्दै देशलाई उत्पादन र आत्मनिर्भरताको बाटोमा अघि बढाउन सबैको रचनात्मक साथ, सहयोग र विश्वासको अपेक्षा गर्नुभएको छ।
मा प्रकाशित