नेपालकाे पहिलाे उद्योग पुनः सञ्चालनकाे लागि समिति गठन

आर्थिक परिवेश

२६ साउन ,काठमाण्डौ । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ ।

उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था,यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट

तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्प बारेमा छलफल भएको थियो ।

कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनु हुनेछ ।

कार्यदलले आफ्नो प्रतिवेदन एक महिनाभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्नेछ ।

मिल पुनः सञ्चालनका सम्बन्धमा यसअघि लिइएका निर्णय तथा विभिन्न निकायबाट गठन भएका कार्यदलले पेस गरेका प्रतिवेदन, सुझाव र सिफारिसहरूको अध्ययन गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ ।

विराटनगर जुट मिल नेपालकाे उद्योगमा सबै भन्दा पुरानाे उद्योग हाे । त्यतीमात्र नभै विराटनगर जुट नेपाली शेयर बजारमा सावर्जिनक शेयर निषकाशन गर्ने पहिलाे उद्योग पनि हाे ।

 

मा प्रकाशित