सुनसरी र सिराहामा ज्यान गुमाएकालाई सहीद घोषणा

आर्थिक परिवेश

२६ साउन,  काठमाडौँ ।  सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शन क्रममा ज्यान गुमाएका चार मृतकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी जिल्लाका ओम प्रकाश मेहता,

जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित

पोखरेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने पनि निर्णय गरेको प्रवक्ता पोखरेलले बताउनुभयो ।

मन्त्री पोखरेलले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्ति गर्ने र पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको

संयाेजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने लगायतका निर्णय भएको बताउनुभयो ।

यस्तै पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय (कन्सुलर अफिस) खोल्न सहमति दिने पनि आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

सो अवसरमा सरकारले गठन गरेका विभिन्न आयोग तथा समितिले बुझाएका प्रतिवेदनहरू सार्वजनिक र कार्यान्वयन भएनन् नि? भन्ने सञ्चारकर्मीका जिज्ञासाहरूमा

शिक्षामन्त्री पोखरेलले सरकारलाई बुझाइएको कतिपय प्रतिवेदनहरू सार्वजनिक भएका र क्रमशः कार्यान्वयन हुने बताउनुभयो ।

मा प्रकाशित