२७ साउन, काठमाडौँ । बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ ।
भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।
सञ्चारमन्त्री तिमिल्सिनाले यही साउन ८ गते नेपाल टेलिकमलाई तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो ।
उहाँले दुर्गम तथा पर्यटकीय क्षेत्रमा सञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै बडीमालिकामा जतिसक्दो छिटो सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको थियो ।
निर्देशनपछि मन्त्रालयले नेपाल टेलिकमसँग निरन्तर समन्वय गर्दै सेवा विस्तारका लागि आवश्यक पूर्वाधार, उपकरण ढुवानी र जडान प्रक्रियालाई तीव्रता दिएको हो ।
यसबीच सञ्चारमन्त्री डा. तिमिल्सिनाले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग समेत छलफल गरी दूरसञ्चार पूर्वाधार जडानका लागि आवश्यक स्थान, स्थानीय सडकको अवस्था तथा स्थानीय तहबाट हुन सक्ने सहयोगका विषयमा जानकारी लिनुभएको थियो ।
स्थलमार्गबाट उपकरण तथा सामग्री लैजान सम्भव नदेखिएपछि हेलिकप्टरमार्फत ढुवानीको व्यवस्था मिलाउन उहाँले निर्देशन दिनुभएको थियो ।
नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको हो ।
टेलिकमले साउन १८ गतेदेखि नै सामग्री बडीमालिका पुर्याउने प्रयास गरे पनि मौसम अनुकूल नभएका कारण उडान हुन नसकेको उहाँले बताउनुभयो । खराब मौसमका कारण जडानस्थलमा खटाइएको प्राविधिक टोलीसमेत फिर्ता बोलाउनुपरेको थियो ।
मंगलबार हेलिकप्टरबाट सामग्री तोकिएको स्थानसम्म पुर्याइए पनि त्यहाँबाट जडानस्थलसम्म करिब चार हजार किलोग्राम उपकरण तथा अन्य सामग्री जनशक्तिमार्फत
बोकाएर लैजानुपर्ने अवस्था रहेको निर्देशक शर्माले जानकारी दिनुभयो । उच्च हिमाली क्षेत्रमा उपकरण ढुवानीसँगै जनशक्ति व्यवस्थापनसमेत चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।
बडीमालिका मन्दिर क्षेत्र समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको छ । उच्च हिमाली भूभागमा अवस्थित उक्त क्षेत्रमा धार्मिक पर्यटनका साथै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गए पनि भरपर्दो टेलिफोन तथा इन्टरनेट सेवा उपलब्ध हुन सकेको थिएन ।
सञ्चार सेवाको अभावले स्थानीय बासिन्दा, तीर्थयात्री तथा पर्यटकलाई सम्पर्क र सूचना आदानप्रदानमा समस्या हुँदै आएको थियो ।
