
७ भदौ, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपालबीच देशमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गरेर अघि बढ्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
एनसीसी अध्यक्ष कमलेश अग्रवाल एनआरएनए अध्यक्ष डा हेमराज शर्माबीच आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
दुवैपक्षबीच भएको समझदारीपत्रमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासलाई सहजीकरण गर्ने समावेश गरिएको छ ।
एनसीसीका अध्यक्ष अग्रवालले दुवै पक्षबीच भएको समझदारीले नेपालमा गैरआवासीय नेपालीले प्रत्यक्ष वैदेशिक लगानी भित्राउनको लागि मार्गप्रशस्त गर्ने बताउनुभयो ।
“हामी दुवै पक्षबीच भएको समझदारीले नेपालमा स्वदेशी तथा गैरआवासीय नेपाली व्यावसायिक समुदायउबीच सहकार्य सुदृढ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौँ”, उहाँले भन्नुभयो ।
एनआरएनएका अध्यक्ष डा शर्माले नेपालका विभिन्न कानुनी जटिलताको कारणले वैदेशिक लगानी भित्राउनको लागि समस्या भइरहेको गुनासो गर्नुभयो ।
“दुवैबीच भएको समझदारीपत्रले पक्कै पनि व्यापार प्रवर्द्धन र देशमा प्रत्यक्ष लगानी भित्राउनको लागि नीतिगत रूपमा सहज वातावरण बनाउन आवश्यक छ ।”
दुवैपक्षबीच भएको समझदारीमा एनसीसी र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा व्यावसायिक कार्यक्रम आयोजना गर्नेछन् ।
त्यस्ता कार्यक्रममार्फत विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपालका स्थानीय व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीको अवसर सिर्जना गरिनेछ ।
त्यसैगरी निर्यातमुखी उद्योगको प्रवर्द्धन, साना तथा मझौला उद्यम (एसएमई) र स्टार्टअपलाई सहयोग तथा संयुक्त पहल सञ्चालन गर्ने विषयमा पनि सहकार्य गर्ने उल्लेख गरिएको छ ।
क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला तथा सेमिनार आयोजना गर्नुका साथै दुवै पक्षले आफ्नो अनुभव, विशेषज्ञता र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सहमति गरेका छन् ।
व्यावसायिक वातावरण सुधारका लागि आवश्यक नीतिगत सुधारको सिफारिस गर्न तथा सरकार र सम्बन्धित सरोकारवालासँग संवाद र समन्वय गर्न पनि दुवै संस्थाले सहकार्य गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।
अध्यक्ष अग्रवालले आर्थिक नीति र कानुनी संरचनामा स्थिरता तथा स्पष्टता नभएसम्म स्वदेशी र विदेशी लगानीकर्ता पूर्ण भित्राउन नसकिने बताउनुभयो ।
मा प्रकाशित