
०७ भदौ, काठमाण्डौ । हाल १० वटा तानबाट कपडा उत्पादन भइरहेको हेटौडा कपडा उद्योगले छिटटै थप १० वटा तानसंञ्चालन गरेर कपडा उत्पदन गर्ने भएको छ ।
हाल सञ्चालमा रहेका मध्ये तीन वटा तानलाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको छ ।
स्वचालित प्रविधिमा रूपान्तरण अघि एउटा तानबाट आठ घण्टामा २० देखि २५ मिटर कपडा उत्पादन हुने गरेकामा स्वचालित बनाए पछि सोही अवधिमा ६५ देखि ७० मिटरसम्म कपडा उत्पादन हुन थालेको उद्योगका प्राविधिक रमेशबहादुर भट्टराईले जानकारी दिनुभयो ।
लामो समय प्रयोगविहीन हुँदा मेसिनमा प्रयोग भएका छाला र काठका सामान नष्ट भए पनि मुख्य फलामे संरचना राम्रो अवस्थामा रहेको भट्टराईले बताउनुभयो
स्वचालित तान सञ्चालन गर्दा कम जनशक्तिबाट बढी उत्पादन गर्न सकिन्छ ।
उद्योगका मेसिनबाट साडी, पोसाक, तन्ना, कोरा, रङ्गीन तथा बुट्टेदार कपडासहित निजामती कर्मचारी र सुरक्षा निकायलाई आवश्यक विभिन्न कपडा उत्पादन गर्न सकिने प्राविधिकहरूको भनाइ छ ।

सरकारले गत असार १८ गते उद्योग पुनःसञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेनालाई उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणाली तथा मेसिन मर्मतको जिम्मेवारी दिएको हो ।
परीक्षण उत्पादनका लागि ३३ लाख उपलब्ध गराइएको छ । हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार उद्योगको स्थलगत अनुगमन गरी परीक्षण उत्पादन र मर्मतसम्भारको प्रगतिबारे जानकारी लिनुभएको छ ।
अनुगमनका क्रममा उहाँले २० वटा तान सञ्चालनका लागि तयार पारिएको र तीमध्ये १० वटा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो ।
परीक्षण उत्पादनका लागि आवश्यक कच्चापदार्थ हाल स्वदेशी रिलायन्स धागो उद्योगबाट ल्याइएको मन्त्री यादवले जानकारी दिनुभयो ।
स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्न कृषकलाई कपासखेती गर्न आग्रह गरिएको उल्लेख गर्दै उहाँले कृषकले उत्पादन गरेको कपास खरिद गर्न र आवश्यक सहयोग उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो ।
मा प्रकाशित