सडकमा करिब ३० अर्बको क्षति भएको प्रारम्भिक अनुमान

आर्थिक परिवेश

१६ भदौ,काठमाण्डौ ।   रसुवा बाढीका कारण मुलुकको सडक पूर्वाधार क्षेत्रमा करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको सडक विभागले प्रारम्भिक अनुमान गरेको छ ।

क्षतिग्रस्त सडक,पुल अन्य संरचनालाई थप सुरक्षित आधुनिक प्रविधिसहित पुनर्निर्माण गर्न करिब ५० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने विभागको अनुमान छ ।

सडक विभागका महानिर्देशक विजय जैसीले प्रारम्भिक अध्ययनमा सडक पूर्वाधारमा करिब ३० अर्ब रुपैयाँको क्षति देखिएको बताउनु भयो ।

यसअघि विभागले करिब २० अर्ब रुपैयाँको क्षति अनुमान गरे पनि कृष्णभीर र त्रिशूली नदी क्षेत्रमा भएको क्षतिको थप विवरण आएपछि प्रारम्भिक क्षतिको अनुमान करिब ३० अर्ब रुपैयाँमा आउन सक्ने उहाँले बताउनु भयो ।

सडकको सम्पूर्ण क्षति पुनर्निर्माण गर्न करिब ५० अर्ब रुपैयाँ लगानी आवश्यक पर्न सक्ने उहाँले उल्लेख गर्नु भयो ।

राष्ट्रिय योजना आयोगअन्तर्गतको टोलीसहित विभागको प्राविधिक टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिरहेको छ । ती टोलीले करिब एक साताभित्र थप विस्तृत प्रतिवेदन तयार गर्ने अपेक्षा गरिएको जैसीले बताउनु भयो ।

रसुवामा आएको बाढीसामान्य प्रकृतिको बाढीका रूपमा रहेको मात्र नभएर बाढीको छाल करिब १०० मिटरसम्म माथि पुगेको र पानीको बहावको गति करिब ५२ मिटर प्रतिसेकेन्डसम्म रहेको देखिएको उहाँले बताउनु भयो ।

बाढीका कारण एउटा पुल बगेर त्यसैको संरचना तलतिर बग्दै अर्को पुलको पिलरमा ठोक्किनेसम्मको अवस्था देखिएको उहाँले बताउनु भयो ।

मा प्रकाशित