
१६ भदौ, काठमाडौं । नेपाल–चीन सीमा नजिकै भदौ १० गते गएको हिमपहिरो र त्यसपछिको बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएका छन् ।
सरकारले मंगलवार सार्वजनिक गरेको घटना सम्बन्धी पहिलो स्थिति प्रतिवेदनमा उल्लेख गरिएकाे छ।
बाढीबाट भोटेकोशी–त्रिशूली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार यो प्रतिवेदन सार्वजनिक गरेको हो।
प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ भने धादिङ, गोर्खा र चितवनलाई मध्यम रूपमा प्रभावित जिल्लामा सूचीकृत गरेको छ।
बाढीपहिरोमा परी हालसम्म १ हजार ५० जनाको मृत्यु पुष्टि भएको प्राधिकरणले जनाएको छ।
सबैभन्दा बढी मृत्यु चितवनमा ३२१ जनाको भएको छ भने नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोर्खामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ।
देशका ६२ जिल्लाबाट जम्मा ३,९१६ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ। बेपत्ता हुनेमध्ये ६२ प्रतिशत स्वदेशी पर्यटक तथा नेपालीसहितको समूह, १७ प्रतिशत सरकारी निकायका कर्मचारी र १५ प्रतिशत विदेशी नागरिक रहेका छन्।
उद्धार तथा उपचार
प्राधिकरणका अनुसार, विभिन्न उद्धार कार्यमार्फत हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार भएको छ, जसमध्ये २५३ जना विदेशी नागरिक रहेका छन्।
हवाई मार्गबाट मात्रै ३,७०२ जनाको उद्धार गरिएको छ भने ५७३ वटा हवाई उडान सञ्चालन भएका छन्।
उद्धार कार्यमा नेपाली सेनाका ८,८९६, नेपाल प्रहरीका ७,९१२ र सशस्त्र प्रहरी बलका ४,२०३ गरी कुल २१,०११ सुरक्षाकर्मी खटिएका छन्।
खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएका छन्।
विभिन्न स्वास्थ्य संस्थामा २७९ जना घाइतेको उपचार भएकोमा ७९ जना अझै उपचाररत छन्, १६८ जना डिस्चार्ज भइसकेका छन् र ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रमा थप २,७४० जनालाई स्वास्थ्य उपचार प्रदान गरेको छ।
मा प्रकाशित