जोखिमपूर्ण हिमतालकाे जलस्तर घटाउन सरकारले गृहकार्य गरिरहेको छ : उर्जामन्त्री

आर्थिक परिवेश

२८ भदाै, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।

आइतबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले कुन कुन ताल फुटाउने भनेर टुङ्गो नलागिसकेको पनि बताउनुभयो । ‘विज्ञहरुसँग परामर्श लिँदैछौं । छलफलमा धेरै तालहरूको नाम विज्ञहरुबाट आएको छ ।

अध्ययन गरिरहेका छौँ । जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौँ,’ उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठकाअनुसार ग्रिन क्लाइमेट फण्ड (जीसीएस) बाट प्राप्त सहयोग परिचालन गरेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ ।

इसिमोड र युएनडिपीको संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त छन् । कोशी र गण्डकी क्षेत्रमा चार वटा अति उच्च जोखिमयुक्त हिमताल छन् ।

मा प्रकाशित