
०१ असाेज, काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब बजेट रकम खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रूपैया खर्च गरेकाे छ । याे खर्च वार्षिक लक्ष्यको ९. ४१ प्रतिशत बराबर हुन्छ ।
कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म ९.६ प्रतिशत बजेट खर्च गरेको छ ।
यो शीर्षकमा चालु आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख खर्च भएको हो ।
त्यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख रूपैया बजेट विनियोजन भएकोमा हालसम्म वार्षिक लक्ष्यको १. ७८ प्रतिशत अर्थात् ७ अर्ब ६६ करोड ४८ लाख मात्रै खर्च भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।
वित्तीय व्यवस्था शीर्षकको हालसम्मको बजेट खर्च १६ दशमलव ५९ प्रतिशत छ । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख विनियोजन भएकोमा भदौ मसान्तसम्ममा ७० अर्ब १३ करोड ७० लाख रूपैया बराबर खर्च भएको देखिएको हो ।
यस अवधिसम्ममा सरकारको खर्चको तुलनामा आम्दानी कम छ । भदौ मसान्तसम्मको कुल राजश्व सङ्कलन वार्षिक लक्ष्यको ११ .५८ प्रतिशत अर्थात् एक खर्ब ९० अर्ब १० करोड ७९ लाख छ ।
पछिल्ला दुई महिनामा मात्रै सरकारको आम्दानी भन्दा खर्च करिब रु नौ अर्ब ७२ करोडले बढी रहेको छ । कर राजश्वतर्फ चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब तीन अर्ब ३१ करोड ८३ लाख रूपैया उठाउने सरकारको लक्ष्य रहेको छ ।
भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको १२ दशमलव २९ प्रतिशत अर्थात् १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रूपैया सङ्कलन भएको छ ।
त्यस्तै, गैरकर राजश्वतर्फ रु एक खर्ब ७७ अर्ब उठाउने सरकारको लक्ष्य रहेको छ । हालसम्म ६ . ९ प्रतिशत अर्थात् १० अर्ब ७७ करोड ६९ लाख रूपैया उठेको छ ।
चालु आर्थिक वर्षका लागि ६१ अर्ब ७४ करोड ५४ लाख रूपैया प्रत्यक्ष वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा ८.९६ प्रतिशत अर्थात् ५ अर्ब ५३ करोड बराबर भित्रिएको कार्यालयले जनाएको छ ।
मा प्रकाशित