नेपाली प्रविधि क्षेत्रका प्रतिनिधिहरुकाे टेक रोड शो २०२६ स्वीट्जरल्यान्डको जुरिचमा सम्पन्न

आर्थिक परिवेश

०४ असोज, जुरिच, स्वीटजरल्याण्ड ।  नेपाली प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ताहरुकाे नेपाल टेक रोड शो २०२६ स्वीट्जरल्यान्डको जुरिचमा सम्पन्न भएको छ ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) को आयोजनामा तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा ‘स्वीट्जरल्यान्डको ज्युरिचमा आयोजित कार्यक्रममा नेपाल र स्वीट्जरल्यान्डका व्यवसायी,प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा सरोकारवालाबीच नेपाली आईटी उद्योगको सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा नेपालको बढ्दो आईसीटी क्षेत्र, दक्ष जनशक्ति, डिजिटल नवप्रवर्तन, आईटी निर्यात तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सफ्टवेयर विकास, साइबर सुरक्षा, क्लाउड सेवा, डेटा इन्जिनियरिङ र डिजिटल रूपान्तरणका क्षेत्रमा नेपालको क्षमता र दक्षता प्रस्तुत गरिएको थियो ।

नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली आईटी उद्योगले अन्तर्राष्ट्रिय बजारमा आफ्नो क्षमता प्रस्तुत गर्दै नयाँ व्यावसायिक अवसर र सहकार्य विस्तार गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा स्विस नेपाल चेम्बर अफ कमर्सले नेपाल–स्वीट्जरल्यान्ड व्यापार तथा प्रविधि सम्बन्ध र नेपाली आईटी कम्पनी तथा स्वीस व्यवसायबीच सहकार्यका सम्भावनाबारे जानकारी दिएको थियो ।

रोडशोमा नेपालका १७ वटा आईटी कम्पनीले एक–एक मिनेटको कम्पनी पिचमार्फत आफ्ना सेवा, विशेषज्ञता र प्रविधि समाधानबारे जानकारी दिएका थिए ।

कार्यक्रममा सम्भावित व्यावसायिक सहकार्य, साझेदारी, लगानी तथा अन्तर्राष्ट्रिय बजार विस्तारका अवसरबारे छलफल भएको थियो ।

नास–आईटीले नेपाली प्रविधि उद्योगको अन्तर्राष्ट्रिय प्रवद्र्धन तथा विश्व बजारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित विभिन्न देशमा टेक रोडशो आयोजना गर्दै आएको जनाएको छ ।

 

मा प्रकाशित