
१३ असोज, काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार असोज १२ गतेसम्म विभिन्न निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा कुल २ हजार १८० वटा दाबीमार्फत २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँको प्रारम्भिक दाबी परेको छ ।
कम्पनीहरुमा परेको दाबी तथ्यांकलाई भेरिफाइड गरेर मात्रै नयाँ विवरण सार्वजनिक गरेको प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेल अधिकारीले बताउनु भयो ।
बाढीबाट ठूलो परिमाणमा भौतिक संरचना, सवारीसाधन र जलविद्युत् आयोजनामा क्षति पुगेपछि परेको दाबीमध्ये हालसम्म बीमकहरूले अग्रिम (पेश्की) समेत गरी जम्मा ६७ लाख ४८ हजार रुपैयाँ मात्र भुक्तानी गरेका छन् ।
बीमालेखको प्रकारअनुसार रकमका आधारमा सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा परेको छ । सम्पत्ति बीमातर्फ ५१८ वटा दाबीमार्फत ९ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ बराबरको क्षति मागदाबी गरिएको छ ।
त्यसमा हालसम्म ३८ लाख १४ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ १६५ वटा दाबीबाट ४ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ बराबरको क्षति मूल्याङ्कन गरिएको छ ।
दाबी संख्याका आधारमा भने मोटर बीमा सबैभन्दा अगाडि देखिएको छ । बाढीले सवारीसाधन बगाएको र क्षति पु¥याएको भन्दै १ हजार ६६ वटा मोटर बीमाको दाबी परेको छ ।
जसको रकम ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ बराबर छ । मोटर बीमातर्फ २४ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ ।
यसबाहेक, परिवहन बीमातर्फ १०४ वटा दाबीमार्फत २ अर्ब ४८ करोड ५१ लाख, अन्य विविध बीमातर्फ २९९ दाबीबाट १ अर्ब ३६ करोड ८५ लाख र स्वास्थ्य बीमातर्फ २८ वटा दाबीबाट २२ करोड ५२ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणले हालै मात्र संक्षिप्त कार्यविधि जारी गरी ५ लाखसम्मको दाबी तत्कालै फछ्र्यौट गर्न र ठूला दाबीमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
मा प्रकाशित