
१३ असोज, काठमाडौँ । सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
आजको मन्त्रिपरिषद् बैठकले पशु, वधशाला र मासु जाँच ऐन–२०५५ लाई संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको छ ।
यस्तै बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २० दशमलव ७ अमेरिकी डलर मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ ।
यसैगरी आजको मन्त्रिपरिषद् बैठकले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केश्वर पतलैया सडकखण्ड, गर्जनखोला साना जलविद्युत आयोजना, बलेफीखोला
जलविद्युत् आयोजना र सशस्त्र प्रहरी बल, नेपाल कार्यालयलाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले सहसचिव आवास श्रेष्ठ कर्णलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।
त्यसै गरी बैठकले डा. जगदीश्वर कर्माचार्यलाई नेपाल इन्जिनियरिङ सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने लगायतका निर्णयहरू गरेको शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
मा प्रकाशित