१७ असाेज काठमाण्डाै । लण्डनमा रहेका नेपाली फेसन उद्यमी तथा समाजसेवी रविन्द्रजंग लामिछानेकाे ‘द लामिछाने फाउन्डेसन’ ले भोटेकोशी बाढीपीडितका लागि एक करोड ७ लाख रुपैयाँ सहयोग गरेको छ ।
बेलायतस्थित च्यारिटी कमिसनमा दर्ता भएको द लामिछाने फाउन्डेसनले बिहीबार लन्डनस्थित नेपाली दूतावासको बैंक खातामा ५१ हजार ७ सय २७ पाउण्ड जम्मा गरेको लामिछानेले जानकारी दिनुभयाे ।
बिहिबार लण्डनमा रहेकाे नेपाली दूतावासमा आयोजित समारोहमा फाउन्डेसनका अध्यक्ष समेत रहेका फेसन उद्यमी तथा समाजसेवी रविन्द्रजंग लामिछानेले कार्यवाहक राजदूत विपिन दुवाडी र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणालाई चेक हस्तान्तरण गर्नु भयाे ।
सांसद राणाले आफ्नो बेलायत भ्रमणका क्रममा भीषण बाढी पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन ब्रिटिश राजनीतिज्ञलाई भेटेर सहयोग आह्वान गरेको पनि जनाउनु भयाे ।
नेपालको जीडीपीको करिब १० प्रतिशत रकम पुनर्निर्माणमा खर्चनु पर्ने भएकाले अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको पनि उहाँको भनाइ थियो ।
कार्यक्रममा झन्डै ५० वर्ष बेलायतमा सक्रिय राजनीति गरेका पूर्व सांसद बिरेन्द्र शर्माले व्यवसायी लामिछानेलाई आफूले लामो समयदेखि चिनेको स्मरण गर्दै नेपाललाई अप्ठ्यारो परेका बेला सहयोगमात्र होइन्, बेलायत नेपाल सम्बन्ध अभिवृद्धिमा समेत लामिछानेले उल्लेख्य योगदान गरेको बताउनु भयाे ।
लामिछानेले दुई देशको व्यापार र राजनीतिक सम्बन्ध जोड्ने काम गर्दै आएको पनि शर्माले बताउनु भयाे ।
कार्यवाहक राजदूत विपिन दुवाडीले सहयोग ग्रहण गर्दै द लामिछाने फाउन्डेसनप्रति कृतज्ञता व्यक्त गर्नु भयाे ।

व्यवसायी लामिछानेले महाभूकम्प र कोभिड महामारीका बेला समेत नेपालमा उल्लेख्य सहयोग गरेको बताउंदै दुवाडीले नेपाल सरकार अब उद्धारपछि पुनस्थापना र पुनर्निर्माणमा केन्द्रित रहेको बताउनु भयाे ।
कार्यक्रममा विगत तीन दशकदेखि बेलायतमा फेसन व्यवसाय सञ्चालन गर्दै आएका जिनी लन्डन र रवि फेमस लिमिटेडका सीईओ तथा संस्थापक लामिछानेले देशमा आपतविपत पर्दा सहयोग गर्नु आफ्नो मुख्य दायित्व भएको उल्लेख गर्नु भयाे ।
ब्रिटिश सेनाको उच्च तह लेफ्टीनेन्ट कर्णेलबाट अवकासप्राप्त भूतपूर्व गोर्खा टोल खाम्चा मगरले लामिछानेको व्यवसायिक सफलता तथा सामाजिक कार्य सबैका लागि प्रेरणादायी भएको बताउनु भयाे ।
सो अवसरमा फाउन्डेसनको बोर्ड अफ ट्रष्टीज द्वय लक्ष्मी राई र सूर्यप्रसाद उपाध्यायले संस्था स्थापनाको उद्देश्य र भावी कार्यक्रमबारे अवगत गराउनु भएकाे थियाे।
कोभिड महामारी र र महाभूकम्पमा पनि सहयोग
सन् २०१५ को महाभूकम्पको समयमा लामिछानेले नेपाली सेना र नेपाल प्रहरीमार्फत लाखौं रुपैयाँ बराबरका कम्बल, पाल र अत्यावश्यक सामग्रीहरू राहत स्वरूप प्रदान गरेर असाधारण मानवीय संवेदना प्रदर्शन गर्नु भएकाे थियाे ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा ५१ लाख रुपैयाँ प्रत्यक्ष सहयोग पनि उहाँले गर्नु भएकाे थियाे ।
लामिछानेले कोभिड–१९ महामारीको दोस्रो लहर चरम अवस्थामा पुगेका बेला ‘प्रधानमन्त्री राहत कोष’ मा १५ लाख रुपैयाँ सहयोग प्रदान गर्नु भएकाे थियाे । साथै, उहाँले महामारीको सोही समयमा अक्सिजनको चरम अभाव हुँदा बेलायतस्थित स्वामीनारायण संस्थासँगको सहकार्यमा ३३ थान पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर खरिद गरी नेपाल पठाउनु भएकाे थियाे ।
आफ्ना पिता स्वर्गीय चन्द्रजंग लामिछानेको स्मृतिमा काठमाडौं धुम्बाराहीमा चण्द्रेश्वर महादेव मन्दिर निर्माण गरेका लामिछानेले पर्वत मल्लाजस्थित ऐतिहासिक कुल बाराही मन्दिर, साउथ इष्ट लन्डनस्थित पशुपति मन्दिर र अल्डरसटमा रहेको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेका लागि पनि लाखौं रकम समेत सहयाेग गर्नु भएकाे थियाे ।
लामिछाने संस्थापक अध्यक्ष रहेको रविचन्द्र ट्रष्ट (नेपाल) ले अहिले ५५ गरिब तथा जेहेन्दारबालबालिकालाई छात्रवृत्ति प्रदान गरिरहेको छ । जन्म जिल्ला पर्वतमा पनि उहाँले विभिन्र सामाजिक तथा शैक्षिक कृयाकलापहरूमा समय समयमा सक्दाे सहयाेग गर्दै अाएकाे लामिछानेले बताउनु हुन्छ ।
बेलायत नेपाल सम्बन्धमा अभिवृदधिमा पुलको काम
यूके–नेपाल व्यापार तथा लगानी मञ्चका उपाध्यक्ष र कमनवेल्थ इन्टरप्रिनर्स क्लब लन्डनको सल्लाहकार परिषद्का सदस्य समेत रहनु भएका रविजंगले बेलायत नेपाल द्विपक्षीय सम्बन्ध सुदृढ पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएकाे छ।
बेलायत नेपालबीच राजनीतिक तथा व्यापारिक सम्बन्ध विस्तारमा पुलको काम गर्दै आउनु भएका लामिछानेले बेलायत भ्रमणका क्रममा नेपालका शीर्ष नेताहरुका विभिन्न भेटघाट व्यवस्थापन तथा रिसेप्सन कार्यक्रमहरू समेत अायोजना गर्दै आएनु भएकाे छ ।
सन् २०१९ मा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक बेलायत भ्रमणका क्रममा ओलीसंग तत्कालीन प्रधानमन्त्री टेरेजा मेबीच उच्चस्तरीय भेटवार्ता व्यवस्थापनमा रविन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकाे थियाे ।
त्यस भेटवार्ताले बेलायत र नेपालबीचको द्विपक्षीय सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान पुगेको थियो ।
सन् २०२१ मा कोप २६ सम्मेलनमा भाग लिन आएका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा लामिछानेले लन्डनस्थित प्रतिष्ठित ‘नेभल एण्ड मिलिटरी क्लब’ मा एक भव्य रात्रिभोजकाे संयोजन समेत गर्नु भएकाे थियाे ।
सन् २०२२ मा लामिछानेले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयल बीचको महत्त्वपूर्ण बैठकको समन्वय गर्न समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएकाे थियाे।
सन् २०२२ मार्चमा रविन्द्रले विश्वप्रसिद्ध योग गुरु सद्गुरुको उपस्थितिमा एक विशेष कार्यक्रम र रात्रिभोजकाे आयोजना गरेर अातिथ्यता प्रदान गर्नु भएकाे थियाे ।
नेपाली दूतावास र बेलायती संसद भवन (हाउस अफ पार्लियामेन्ट) मा आयोजित उक्त विशेष कार्यक्रमले विभिन्न पृष्ठभूमिका व्यक्तिलाई एकै ठाउँमा ल्याएर सांस्कृतिक विविधता तथा समावेशीतालाई प्रवर्धन गर्न सहयाेग पुरयाएकाे थियो ।
