
२४ असाेज काठमाण्डाै । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्दा पाँच कारोबार दिनअघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ।
बोर्डको नियमन विभागले असोज २३ गते जारी गरेको पत्रमार्फत यसअघि जारी निर्देशिकामा संशोधन तथा थप व्यवस्था गरेको हो।
धितोपत्र कारोबारलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ४८ को उपदफा (१) बमोजिम बोर्डले निर्देशिका संशोधन गरेको जनाएको छ।
संशोधित व्यवस्थाअनुसार, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ।
कम्पनीले उक्त जानकारी प्राप्त गरेपछि यथाशीघ्र नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
बोर्डले यसअघि आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयरको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको थियो।
त्यस्तै, सेयर बिक्री गर्ने उद्देश्यले सूचीकृत कम्पनीमार्फत सूचना सार्वजनिक गराएका सेयरधनीले तोकिएको सेयर बिक्री नगरेको वा पूर्ण रूपमा बिक्री नगरेको अवस्थामा पुनः सोही कम्पनीको सेयर खरिद गर्न चाहेमा पनि संशोधित व्यवस्थाअनुसार कारोबार सम्पन्न भएपछि यथाशक्य छिटो सार्वजनिक जानकारी गराउनुपर्ने प्रावधान राखिएको छ।
बोर्डको यो संशोधनले ठूलो परिमाणमा सेयर बिक्री गर्नुअघि बजारलाई जानकारी दिने प्रक्रियामा परिवर्तन गरेको छ।
मा प्रकाशित