
२५ असाेज, काठमाण्डाै । बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी बाढी प्रभावित क्षेत्रमा फसेका ४७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका चार वटा हेलिकप्टरसहित ३८६ जना सुरक्षाकर्मी परिचालन गरिएको बताउनु भयाे ।
हालसम्म नेपाली सेनाबाट १२७ जना, नेपाल प्रहरीबाट ८३ जना र सशस्त्र प्रहरी बल नेपालबाट १७७ जना परिचालन भएका छन्।
बाढीले गोरखाको चुमनुब्री गाउँपालिका-३ न्याक्चेतबाट सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको उहाँले बताउनु भयाे । सोही क्षेत्रमा एउटा घर बगाएको र अर्को एउटा घरमा बाढी पसेको छ।
त्यसैगरी बाढीले धार्चे गाउँपालिका-५ माछीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुलसमेत बगाएको छ। बाढीको वास्तविक कारण पत्ता लगाउन तथा क्षतिग्रस्त पुलहरूको अवस्था अध्ययन गर्न प्राधिकरण र सडक विभागको प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
बाढीले धार्चे गाउँपालिका-३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सातदेखि आठ वटा घर बगाएको सूचना प्राप्त भएको प्राधिकरणले जनाएको छ।
त्यस्तै, बाढीले आरूघाट गाउँपालिका-९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भाग बाढीले बगाएको उप्रेतीले जानकारी दिनु भयाे । माछीखोलाको तल्लो बस्तीमा बाढी पस्दा २० भन्दा बढी घर जोखिममा परेका छन्।
आरूघाट गाउँपालिका २ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको छ। बूढीगण्डकी ३४१ मेगावाट मुख्य क्याम्प क्षेत्र र केही निर्माण निर्माण उपकरण बगाएको अवस्था छ।
दोभान खोला २४.५ मेगावाट क्याम्प क्षेत्रका केही घरहरूमा क्षति, बेली ब्रिज बगाएको उनले बताए। बाढी गरेको क्षतिको थप विवरण संकलन कार्य भइरहेको प्राधिकरणले जनाएको छ।
मा प्रकाशित