२९ असाेज, मुस्ताङ । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरला नाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएका छन् ।
कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी सडक अवराेधका कारण गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् ।
शुक्रबार साँझदेखि सडक सञ्चालनमा अाए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल भित्रिएका विद्यतीय सवारीसाधनहरु अझै गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन् । उ
क्त सडक पूर्ण रूपमा सहज नभएको जनाउँदै सम्बन्धित प्रतिनिधिहरूले गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमै रोकिन पुगेको हो ।
नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला पठार र न्हेचुङस्थित मुस्ताङ भन्सार यार्डमा करिब दुई हजार बढी विद्युतीय सवारी पार्किङ गरी राखिएको छ ।
कोरलास्थित बिओपीका इन्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरलानाकाको दशगजा क्षेत्रमा विभिन्न कम्पनीका दुई हजार बढी र भन्सार यार्डमा २०० बढी विद्युतीय गाडी पार्किङमा रहेको जानकारी दिनुभयो ।
त्यसैगरी कोरलानाबाट भन्सार जाँचपास गरी जोमसोम झारिएका करिब पाँच सय बढी विद्युतीय सवारी जोमसोमका दुई पार्किङस्थलमा व्यवस्थापन गरिएको छ ।
अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन भए पनि सडकको अवस्था अझै नाजुक रहेकाले जोमसोम झरेका विद्युती सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकेको बिवाडी कम्पनीको खरिदकर्ता साइमन इङ्कका प्रतिनिधि दीपक बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भारी वर्षाले सडक अवरुद्ध भएयता कोरलानाकाबाट भित्रिएका बिवाइडी कम्पनीका विभिन्न मोडलका २००० बढी गाडी मुस्ताङमा रोकिएको बताउनुभयो ।
कम्पनीबाट कोरलानाकाबाट भित्रिएका विद्युती गाडी गन्तव्यतर्फ छुटाउन आएका उहाँले साना गाडीलाई गन्तव्यमा पठाउन अझै समस्या भएकाले जोमसोममै राखिएको उहाँको भनाइ छ ।
जोमसोम बसपार्क र भन्सार कार्यालयको जोमसोममा रहेको पार्किङस्थलमा भित्रिएका गाडीहरु थन्क्याइएको उहाँले उल्लेख गर्नुभयो ।
असोज ११ गतेअघि बिवाइडी कम्पनीका गाडी करिब ४५० जति गन्तव्यमा पठाइएको भए पनि त्यसपछि भित्रिएका गाडी बेनी–जोमसोम सडक असहजताले गर्दा गन्तव्यमा पठाउन समस्या भएको उहाँले जानकारी दिनुभयो ।
साइमेक्स इङ्कले रसुवा र तातोपानी नाका बन्द भएपछि करिब तीन हजार बढी विद्युतीय गाडी कोरलानाकाबाट भित्र्याउने योजना रहेको उहाँको भनाइ छ ।
प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका ६०० बढी कन्टेनर जिल्लाबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् ।
यसैगरी जिल्लामा रोकिएका कन्टेनरहरु बाहिरिएसगै कोरलानाकामा मालवस्तु ढुवानी गर्न केही खाली कन्टेनर उकालो लागेको उहाँले जानकारी दिनुभयो ।
