२ महिनामा व्यापार घाटा २६ प्रतिशतले बढेर ३२४ अर्ब ९३ करोड

आर्थिक परिवेश

३० असोज, काठमाण्डौ । आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा कुल वस्तु निर्यात ६१.९ प्रतिशतले वढेर ७६ अर्ब ५९ करोड बराबर पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८.६ प्रतिशतले वृद्धि भएको थियो ।

नेपाल राष्ट्र बैकको विहिवार प्रकाशित मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन अनुसार गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ७०.६ प्रतिशत, १३७.६ प्रतिशत र २२.७ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पोलिष्टर धागो, पाम तेल, जिंक शिट, पार्टिकल बोर्डलगायतका वस्तुको निर्यात बढेको छ भने औषधी (आयुर्वेदिक), प्रशोधित छाला, दाल, नेपाली कागज तथा त्यसबाट निर्मित वस्तु, जडीबुटीलगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा कुल वस्तु आयात भने ३१.६ प्रतिशतले वृद्धि भई ४०१ अर्ब ५२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १६.२ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः २७.४ प्रतिशत, १७.२ प्रतिशत र ५६.६ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, कच्चा भटमासको तेल, खाने तेल, यातायात उपकरण र सवारी साधन तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ ।

यस अवधीमा  सुन, धान तथा चामल, हवाइजहाजका स्पेयर पार्टपुर्जा, पोलिथिन ग्रान्युअल्स्, मेडिकलका सामान तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा कुल वस्तु व्यापार घाटा २६.० प्रतिशतले वृद्धि भई ३२४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १९.१ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५.५ प्रतिशत रहेको थियो ।

मा प्रकाशित