१ महिनामा पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ हजार ३६२ जनाले यात्रा गरे

आर्थिक परिवेश

०७ कार्तिक, पोखरा ।   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू गरेको फ्लाइ दुबईले यडान शुरु गरेको एक महिनाको अवधी पुरा भएको छ ।

एक महिनाको अवधीमा ३० वटा उडान सञ्चालन भै दुबई–पोखरा ४ हजार ५२१ र पोखरा–दुबई १ हजार ८४१ गरी ६ हजार ३६२ जना यात्रुले सेवा लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक जगन्नाथ निरौलाले बताउनु भयो ।

उडान सुरुआतको एक महिनामा भएको अन्तर्राष्ट्रिय उडानलाई उत्साहजनक रूपमा लिइएको छ ।

नेपालीहरूको ठूला चाड दशैँ र तिहारका कारणले दुबईबाट आउने यात्रुको संख्या वृद्धि भइरहेको छ भने यहाँबाट जानेहरू समेत बढिरहेकोले सरकारी तथा निजी क्षेत्रले मिलेर विमानस्थलको प्रवद्धनात्मक काम गर्नुपर्नेमा महाप्रवन्धक निरौलाले जोड दिनु भयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित उडानको पहिलो महिनाको उपलब्धिलाई उत्साहजनक बताउँदै पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिनु भयो ।

व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमणका कार्यक्रम पोखराबाटै सुरु गर्न र अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाट भ्रमण प्याकेज सञ्चालन गर्न पनि प्रमुख आचार्यले अनुरोध गर्नु भयो ।

लामो समयपछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउनुका साथै पर्यटन, व्यापार, रोजगारी र समग्र क्षेत्रीय आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

मा प्रकाशित