पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकाङ्क तयार

आर्थिक परिवेश

काठमाडौँ । नेपाल पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकाङ्क तयार भएको छ ।

करिब दुई वर्षको मेहनतपछि नेपाल राष्ट्र बैङ्कले तयार पारेको सूचकाङ्क शुक्रवार सार्वजनिक गरेको छ । अब हरेक तीन महिनामा सूचकाङ्क सार्वजनिक गरिने भएको छ ।

घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क तयार पारिएको हो ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार काठमाडौँमा एक विशेष कार्यक्रममा नयाँ सूचकाङ्क सार्वजनिक गर्नुभयो ।

राष्ट्र बैङ्कले सूचकाङ्क तयार पार्नका लागि देशव्यापी सर्वेक्षण गरेको थियो । सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६–७७ मा वाणिज्य बैङ्कहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत रहेको पाइएको छ ।

मालपोत कार्यालयबाट प्राप्त तथ्याङ्कको यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । यसै गरी, आर्थिक वर्ष २०७७–७८ को पहिलो नौ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६.३१ र १२.५७ प्रतिशत रहेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७–७८ को पहिलो नौ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको सर्वेक्षणले देखाएको छ ।

घरजग्गा मूल्य सूचकाङ्क तयारी निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्याङ्क उपलब्धता समेतलाई दृष्टिगत गरी नमूनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता केन्द्रबाट तथ्याङ्क सङ्कलन गरिएको छ ।

मा प्रकाशित