२६ चैत्र, जाजरकोट । ईलाका प्रहरी कार्यालय नलगाड दल्लीबाट खटिएको प्रहरी टोलीले नलगाड नगरपालिका-१ खौलागाउँमा अबैध रूपमा लगाइएको अफिम खेती नष्ट गरेको छ। प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार, खौलागाउँका विभिन्न स्थानमा लगाइएको ६५ रोपनी जग्गामा गैरकानूनी रूपमा उमारिएका अफिमका बोटहरू पूर्ण रूपमा नष्ट गरिएको जानकारी दिएका छन्।
प्रहरी टोलीले फूल फुलेका अफिमका बोटहरू नष्ट गरेका छन्। प्रहरी नायव निरीक्षक अर्जुन खडकाको नेतृत्वमा रहेको २० जनाको टोलीले अफिम नष्ट गरेको हो। अफिम खेती प्रायः गहुँखेतीको बीचमा र पाखो बारीमा गरिएको थियो।
जाजरकोट प्रहरीले विभिन्न समयमा अवैध अफिम खेतीको फडानी गर्दै आएको जानकारी दिएको छ। तथापि, स्थानीयहरूले प्रहरीको चेतावनीलाई बेवास्ता गर्दै अफिम खेती जारी राखेका छन्।
नलगाड नगरपालिका-१ देखि १३ वडासम्म अफिमको खेती व्यापक भएको छ। गत वर्षको तुलनामा यस वर्ष स्थानीयहरूले अझ बढी अफिम खेती गर्न थालेका छन्। विशेषगरी विकट र उच्च स्थानमा अफिम खेती गरिएको पाइएको छ। अफिमको बिउ व्यापारीहरू गाउँमा पुगेर उपलब्ध गराइ स्थानीयलाई खेती गर्न प्रोत्साहित गर्दै आएका छन्।
अफिमको कारोवार गाउँमै ८० हजार देखि १ लाख रुपैयाँ प्रति किलोसम्म हुने गरेकाेछ। नलगाड-९ मा मात्रै २० भन्दा बढी स्थानीय भारत र नेपालका जेलमा जेल जीवन विताइ रहेका छन्।
यद्यपि स्थानीयलाई अफिमको खेती र कारोबार नगर्न बारम्बार चेतावनी दिइए पनि उनीहरूले अटेरी गर्दै खेती गरिरहेका छन्। प्रहरीले अफिम खेतीको फडानी कार्यलाई तिव्र बनाउँदै यसको उत्पादन र कारोबारलाई नियन्त्रण गर्न पहल गरिरहेको छ।
मा प्रकाशित