गहिरो अध्ययनका आधारमा विकासका काम अघि बढाउनु पर्नेमा जोड

आर्थिक परिवेश

काठमाडौँ । अर्थ शास्त्रीहरूले उत्पादनशील सम्पत्ति नेपालको आर्थिक विकासको मेरुदण्ड भएकोले त्यसका महत्त्वपूर्ण पक्षहरूको अध्ययन गरेर योजनाबद्ध रुपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

त्रिभुवन विश्व विद्यालय अर्थशास्त्र केन्द्रिय विभागले शनिवार आयोजना गरेको नेपालमा २०७२ सालमा गएको भूकम्पलाई आधार बनाएर गरेको प्राकृतिक प्रकोप र सम्पत्तिको पुनर्स्थापना विषयक अध्ययनका सम्बन्धी छलफल कार्यक्रममा अर्थ शास्त्रीहरूले अध्ययनले भूकम्पका कारण ध्वस्त भएका सम्पत्तिहरूको क्षति, त्यसले समाजमा उत्पन्न गरेको आर्थिक र सामाजिक पक्षको गम्भीर अध्ययन गरी सरकारलाई मार्ग निर्देशन गर्नु पर्नेमा जोड दिनुभयो ।

त्यस क्रममा उहाँहरूले सरकार लगायतका अन्य निकायहरूले विश्व विद्यालयहरू मार्फत गहिरो अध्ययन र विश्लेषणका आधारमा विकास तथा निर्माणका काम अघि बढाउनु आवश्यक भएकोमा जोड दिनुभयो । विभागले दुई वर्षको समय लगाएर गरेको सो अध्ययनको क्रममा भूकम्पका कारण प्रभावित प्रत्येक घर परिवारहरूको उत्पादनशील सम्पत्तिहरूको अवस्थासम्बन्धी सो अध्ययनले भूकम्पबाट प्रभावित देशभरका घरपरिवार मध्ये ५१.६० प्रतिशत घरपरिवारहरू पूर्ण रुपमा पुनर्स्थापना भएको र ४६.९० प्रतिशत घरपरिवारहरू आंशिक रुपमा पुनर्स्थापना भएको जनाएको छ । अध्ययनले प्रभावित घरपरिवारहरूको सम्पत्तिमा राहत र पुनर्स्थापनापछि तीव्र रुपमा वृद्धि भएको देखाएको छ । त्यसै गरी अध्ययनले स्थानीय स्तरमा आफन्त र चिने जानेका व्यक्तिहरू स्थानीय जनप्रतिनिधि भएकाहरूको सम्पत्ति पूर्ण रुपमा पुनर्स्थापना भएको पनि देखाएको छ । छलफलमा त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले नेपाल सरकारले गर्ने सबै प्रकारका अध्ययन अनुसन्धानहरू त्रिभुवन विश्वविद्यालय मार्फत गराउन पहल गरी रहेको बताउनुभयो । उहाँले सबै विभागहरूलाई आआफ्नो विषयमा अध्ययन अनुसन्धानलाई जोड दिन र आवश्यक बजेट विनियोजन गर्न त्रिभुवन विश्वविद्यालयले आग्रह गरेको बताउनुभयो । छलफलमा ईसिमोडका कार्यक्रम संयोजक डा.मणि नेपाल, पाटन क्याम्पसका अर्थ शास्त्र विभागका प्रमुख डा. विष्णु नेपाल, त्रिवि मानविकी संकायका डिन प्रा डा कुसुम शाक्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यसमिति सदस्य डा विष्णु बहादुर भण्डारी, त्रिवि अर्थ शास्त्र विभागका प्रमुख प्रा डा शिवराज अधिकारी लगायतका अर्थशास्त्रीहरू सहभागी हुनुहुन्थ्यो ।

मा प्रकाशित