काठमाण्डौ । गत आर्थिक बर्षको असार मसान्तसम्म नेपालको पुँजीगत खर्च ५७.२३ प्रतिशत मात्र भएको छ ।
महालेखा नियन्त्रक कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा ३२ असारसम्म २ खर्ब १६ अर्ब ३७ करोड २७ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । त्यस आर्थिक बर्षका लागि सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको थियो ।
सरकारले असार एक महिनाको अवधिमा मात्र ७९ अर्ब रुपैयाँ पूँजीगत खर्च गरेको छ । ३१ जेठ २०७९ मा १ खर्ब ३७ अर्ब रुपैयाँ रहेको पूँजीगत खर्च ३२ असार २०७९ मा आइपुग्दा २ खर्ब १६ अर्ब पुगेको छ ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार आव २०७८÷७९ मा सरकारले १२ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो चालु, पूँजीगत र वित्तीय व्यवस्थासमेतको कुल खर्च हो ।
३१ जेठ २०७९ मा १० खर्ब ३५ अर्ब रुपैयाँ रहेको कुल बजेट खर्च ३२ असार २०७९ मा पुग्दा १२ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको हो ।
तथ्यांक अनुसार यस आवमा सरकारले १ खर्ब १८ अर्ब ३९ करोड रुपैयाँ वित्तीय व्यवस्थामा खर्च गरेको छ । वित्तीय व्यवस्थामा यस वर्ष १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य सरकारको थियो ।
तथ्यांक अनुसार सरकारले ३२ असारसम्म १० खर्ब ६७ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो कुल लक्ष्यको ९०.४६ प्रतिशत हो । यस आवमा सरकारले ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
यस आवमा सरकारले ५९ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्तीको लक्ष्य राखेकोमा मात्र १८ अर्ब २९ करोड रुपैयाँ प्राप्त गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।