काठमाण्डौ । साउन २ गते सोमवारसम्म देशभर करिव ७० प्रतिशत खेतहरुमा धान रोपाई सम्पन्न भएको छ ।
असार मसान्तसम्ममा देशभर ६८ प्रतिशत अर्थात ९ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइ भैसकको छ ।
कृर्षि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार साउन लागे संगै पुन मनसुनी बर्षा भएर बाँकी क्षेत्रमा पनि समयमा शतप्रतिशत क्षेत्रमा रोपाइ सम्पन्न मन्त्रालयले जनाएको छ ।
कृषि विभागले प्रदेशहरुसंगको समन्वयमा तयार गरिएको धान रोपाइको असार २८ सम्मको तथ्यांक अनुसार ६० प्रतिशत धान रोपाइ सम्पन्न भएको छ । गत वर्ष २०७८ को असार ३१ सम्म ७६ प्रतिशत क्षेत्रमा धान रोपाइ भएको थियो । यस वर्ष असार ३२ सम्ममा ६८ प्रतिशत रोपाइ भएको छ ।
यस हिसावले गत वर्षको तुलनामा करिव ८ प्रतिशतको हाराहारीमा कम रोपाइ भएको देखिन्छ । विशेषगरि प्रदेश नं १, मधेश प्रदेश र लुम्विनी प्रदेशमा मनसुन शुरु हुन ढिलो भएको कारण यो कमी देखिएको हो ।
मनसुन शुरु हुनासाथ श्रावण १०–१५ सम्म सामान्य हिसावले ती प्रदेशमा रोपाइ हुने भएकोले हालसम्म मन्त्रालयले विगत वर्षहरुमा जस्तै लगभग शतप्रतिशत रोपाइ हुने प्रारम्भिक अनुमान गरेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले असार ३२ गते सम्ममा देशभर ६८ प्रतिशत क्षेत्रमा धान रोपाई भैसकेको जानकारीदिनु भयो । असार २८ गतेसम्म सबै भन्दा धेरै सुदुरपश्चिम प्रदेशमा ८७ प्रतिशत खेतहरुमा धान रोपाइ भएको छ । यस अवधीमा सबै भन्दा कम ३९ प्रतिशत धान मधेश प्रदेशमा रोपिएको छ ।