काठमाण्डौ । नेपालमा ४१.२० प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको बीमा समितिले जनाएको छ । समितिले आर्थिक वर्ष २०७८/७९ सम्मको बीमा व्यवसायको प्रारम्भिक विवरण सार्वजनिक गर्दै म्यादी, लघु म्यादी र वैदेशिक रोजगारी जीवन बीमा लेखसहित कुल जनसंख्या मध्ये बीमाको दायरामा आएको जनसंख्या ४१.२० प्रतिशत पुगेको जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा २७.५३ प्रतिशत रहेको बीमाको दायरामा आएको जनसंख्या एक वर्षमा नै १३.६७ प्रतिशतले बढेको बीमा समितिको दाबी छ ।
जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा एक खर्ब ३८ अर्ब भन्दा बढी रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् ।
बीमा समितिका अनुसार १९ बीमा कम्पनीले आर्थिक बर्ष २०७८÷ ७९ मा एक खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको हो।
अघिल्लो वर्ष सोही अवधिमा कम्पनीहरुले एक खर्ब २० करोड भन्दा बढि रकमको बीमा शुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा ती कम्पनीहरुको बीमा शुल्क १४ प्रतिशत भन्दा बढीले बढेको हो ।
कम्पनीहरुले असार महिनामामात्र १७ अर्ब ६७ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षमा सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७८÷ ८९ मा ३५ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
आर्थिक बर्ष २०७८ ७९मा जीवन बीमा कम्पनीहरुले नवीकरण शुल्क वापत ९७ अर्ब १९ करोड रुपैयाँको उठाएका छन् । सोही अवधिमा प्रथम बीमा शुल्क ४१ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । सो समयमा सक्रिय रहेको बीमालेखको संख्या एक करोड ३० लाख छ ।