काठमाण्डौ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत गरिने विभिन्न महादेशीय भेलाहरु मध्ये एसिया प्रशान्त क्षेत्रको ९ औ क्षेत्रीय भेला थाईल्याण्डको राजधानी बैककस्थित मिलिनियम हिल्टन होटलमा आजबाट शुरु भएको छ ।
अगष्ट २८ २०२२ सम्म संचालन हुने एसिया प्रशान्त क्षेत्रीय भेलामा त्यस क्षेत्रमा बसोवास गर्ने गैर आवासीय नेपालीहरुका क्षेत्रीयस्तरका समस्या तथा सरोकारका विभिन्न विषयहरुका साथै एनआरएनएले उठान गर्दै आएका महत्वपूर्ण विषयहरुमा बिज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम रहेको गैर आवासीय नेपाली संघले जनाएको छ ।
यस भेलामा नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय शेर बहादुर कुंवरसहभागि रहनु भएको छ । बिशिष्ट अतिथिको रुपमा सांसद डा सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मणी भद्र कंडेल शर्मा, पुष्पराज तिमिल्सीना (समाबेसी आयोग), लिली थापा (राष्ट्रिय मानव अधिकार आयोग), मिर्जा अर्सद बेग (राष्ट्रिय मुस्लिम आयोग), गणेश प्रसाद ढकाल (थाईल्याण्डका लागी नेपाली राजदुत), राजेन्द्र खेतान (अनररी काउन्सिलर – पोर्चुगल) ओम शर्मा (केन्द्रीय सदस्य तथा बिदेश बिभाग प्रमुख, नेकपा माओबादी केन्द्र) चन्द्र ढकाल (बरिष्ठ उपाध्यक्ष नेपाल उध्योग बाणिज्य महासंघ) लगायतको सहभागिता रहेको छ ।
त्यसै गरी भेलामा गैरआवासीय आन्दोलनका संस्थापकहरु तथा वर्तमान नेतृत्व तथ पदाधिकारीहरुको सहभागिता रहेको छ । एसिया प्रशान्त क्षेत्रका बिभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरु, यूरोप, अमेरीका ओसियाना , अफ्रिका तथा मध्यपूर्बका ३० देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधीहरुको सहभागिता रहनेछ ।
समृद्ध राष्ट्रको लागी नेपाली प्रवासीहरुको भूमिका, नागरिकता निरन्तरता, पिएनओका मुद्दा, बिदेशमा बस्ने नेपाली बिज्ञहरुको राष्ट्र निर्माणमा भूमिका, सामाजिक रुपान्तरणको लागी लैगिंक समानता साथै गैरआवासीय नेपाली आन्दोलनले उठान गरिरहेका मुद्दाहरु खासगरी सम्मानजनक बैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा, प्रवासबाट मताधिकार, युवा तथा महिला सवाल तथा पढ्दै कमाउंदै जस्ता महत्वपूर्ण कार्यक्रमहरुबारे छलफल र बिभिन्न एनसीसी हरुका प्रस्तुती रहने कार्यक्रम रहनेछ ।
भाईचार अभिबृद्धि तथा पारस्परिक सहयोगलाई बढावा दिने सोचका साथ ‘मिलाप’ को अवधारणा अनुरुप यो भेला आयोजना गरिएको छ। राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिभिन्न मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम, गजल तथा हांस्यब्यंग बिधामा प्रस्तुती रहने छ।
यस ३ दिने कार्यक्रमलाई सफल बनाउन हामी आयोजकहरु अहोरात खटेका छौ – यहांहरुको रचनात्मक सहयोग र सुझाब समेतको अपेक्षा गरिन्छ । कार्यक्रमको अन्तमा भेलाको निचोड प्रस्तुत गरिने छ ।