सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको छ : प्रधानमन्त्री दाहाल

आर्थिक परिवेश

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारीसंग खुमलटारस्थित निवासमा बुधबार भएको भेटबार्तामा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफु जानकार रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो,मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपुर्ण अवस्थाबाट गुज्रिरहेकोले सरकारको ध्यान अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा केन्द्रित भएको बताउनु भयो ।

सामुहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको संकटलाई जोगाउने दायित्व हो भन्दै प्रधानमन्त्री दाहालले सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गर्नु भयो ।

प्रधानमन्त्री दाहालसंगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले विद्यमान आर्थिक अवस्थाबारे ध्यानाकर्षण गराउनु हुँदै बैंक तथा वित्तिय संस्थामा उच्च ब्याजदर रहेको र तरलता अभावका कारण लगानीको वातावरण बन्न नसकेको बताउनुभयो ।

दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पुरा गर्नका लागि एकल अंकको ब्याजदर कायम गरि, दिगो आर्थिक विकास र स्थायीत्वका लागि लगानीको वातावरण बन्न आवश्यक छ, मल्लले प्रधानमन्त्री संगको भेटमा बताउनु भयो ।

भेटमा चेम्बरले बाँझो जमिनलाई सदुपयोग गरी कृषि उत्पादनमा आधुनीकिकरण मार्फत मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने,कृषि कर्जा, खेत किन्नेलाई नभई खेती गर्नेले पाउनुुपर्ने व्यवस्था मिलाउन पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको छ ।

 

 

मा प्रकाशित