४ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले अर्थतन्त्रका समस्या पहिचानकै क्रममा रहेको र चाँडै समाधानका ठोस योजना लिएर आउने बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सले काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्र: अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यसअघि समेत नेपालले ठूलाठूला समस्या भोगेको भए पनि अर्थतन्त्रमा अहिलेको जस्तो सङ्कुचन नदेखिएको बताउनुभयो ।
भूकम्प र नाकाबन्दीमा समेत धेरै नखुम्चिएको नेपालको अर्थतन्त्र अहिले के कारणले धरमराएको हो भनेर समस्या पहिचान भइरहेको उहाँको भनाइ छ ।
अर्थतन्त्रमा देखिएका समस्याका कारणको सूक्ष्म विश्लेषण गर्दै समाधानका लागि आफू लागिरहेको पनि पौडेलले बताउनुभयो । “अर्थतन्त्रलाई सूक्ष्म ढङ्गले हेरेर समस्या पहिचानकै क्रममा छु ।
समस्या कसरी देखियो भन्ने प्रश्नको जवाफ नखोजीकन हामी यसलाई समाधान गर्न सक्दैनौँ । त्यसकारण म सार्थक र निर्णायक समाधान खोज्ने क्रममा छु”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।
अहिले सरकारको राजस्व परिचालन र पुँजीगत खर्च चिन्ताजनक अवस्थामा रहेको बताउँदै उहाँले करको दायरा बढाउने, कर प्रशासन चुस्त बनाउने र खपत बढाउनका लागि सरकारले काम गर्ने बताउनुभयो ।
त्यस्तै, पुँजीगत खर्चलाई कसरी बढाउन सकिन्छ भनी सरकारले काम गरिरहेको उहाँको भनाइ थियो । नयाँ सरकार बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै सार्वजनिक खर्च कटौतीको निर्णय गरेको उल्लेख गर्दै उहाँले मितव्ययी र आर्थिक अनुशासन पालनाका लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
त्यस्तै सरकारले निजी क्षेत्रसँग वैरभाव राख्ने नभई आत्मविश्वास बढाएर अघि बढ्ने नीति लिएको पनि मन्त्री पौडेलले उल्लेख गर्नुभयो ।
सोही कार्यक्रममा पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको अर्थतन्त्र पटक पटक दुर्घटना हुनबाट बचेको उल्लेख गर्नुभयो ।
नेपालको वित्तीय नीति र मौद्रिक नीतिको सन्तुलनबाट अर्थतन्त्रलाई सही दिशामा ल्याउनु आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस्तै नेपालले विभिन्न वस्तुको आयातमा रोक लगाएर विदेशी मुद्राको सञ्चिति बढेको भनेर सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको पनि पूर्व अर्थमन्त्री खतिवडाको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्लेले सन २०२३ मा विश्व अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थाबाट गुज्रने अनुमान भइरहेकाले नेपालले आफ्नो अर्थतन्त्र सुझबुझपूर्ण ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
वित्तीय खाताको सन्तुलन कायम गर्न अहिलेको सरकारले मुख्य पहल गर्नुपर्ने उहाँको भनाइ छ । सरकारी राजस्वले चालू खर्च पनि मुस्किलले धान्न सक्ने अवस्था रहेको, पुँजीगत खर्च न्यून रहेको, सरकारी खर्च र सामाजिक सुरक्षाको दायित्व बढ्दै गएको पनि वाग्लेले बताउनुभयो ।
सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले पहल गर्नुपर्ने पनि उहाँको सुझाव छ । त्यस्तै अर्थतन्त्रमा उत्पादन क्षेत्रको योगदान बढाएर रेमिट्यान्सको योगदान घटाउँदै जानुपर्ने उहाँको भनाइ छ ।
सोही कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रका समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो समय अवैध व्यापार बढेका कारण भन्सार राजस्व घटेको, कृषि उत्पादन घटेको तथा कृषि कर्जाको प्रभावकारिता नदेखिएको मल्लको भनाइ छ ।
हस्तकलाका सामग्री ब्राण्डिङमा सहयोग गर्नुपर्ने, पर्यटन सेवालाई प्रवर्द्धन गर्ने, नेपाललाई सूचना प्रविधि क्षेत्रको हब बनाउन पहल गर्नसके अर्थतन्त्रका हालका समस्या समाधन गर्न सकिने र भविष्यको बाटो तय गर्नका लागि पनि सहज हुने मल्लले बताउनुभयो
मा प्रकाशित