२६चैत्र, काठमाडाैं । नेपाली शेयर बजारमा आइतवार नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । यस दिन परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्कमा कायम भएको छ ।
आइतवार दुई सय ६८ वटा कम्पनीहरूका ३८ लाख ४३ हजार सात सय १३ कित्ता शेयरहरू २९ हजार दुई सय ३९ पटक किनबेच हुँदा एक अर्ब १५ करोड ९४ लाख ४८ हजार रूपैया बराबरको कारोबार भएको छ । यस दिन सबै समूहका उपसूचकहरू रातै भएकाे देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७९ दशमलव ९४ र निर्जीवन बीमा समूह एक सय ५३ दशमलव ३६ अङ्कले घटेको छ ।
नेप्सेका अनुसार बैङ्किङ समूह १५ दशमलव ११, विकास बैङ्क समूह ६१ दशमलव ५२, वित्त समूह २७ दशमलव ७३, होटल तथा पर्यटन समूह ४३ दशमलव ०४ र जलविद्युत् समूह ५७ दशमलव ९० अङ्कले घटेको छ । त्यस्तै लगानी समूह शून्य दशमलव ६६, उत्पादन तथा प्रशोधन समूह ४९ दशमलव ८१, लघुवित्त ४४ दशमलव ३५, म्युचुअल फन्ड शून्य दशमलव १०, अन्य समूह १७ दशमलव तीन र व्यापार समूह २७ दशमलव ३३ अङ्कले घटेको छ ।
आइतवारकाे कारोबारमा कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट भने माछापुच्छ्रे बैङ्क डिबेन्चर–२०८५ को शेयरमूल्य सात दशमलव ७५ प्रतिशतले घटेको छ ।
यस दिन सबैभन्दा धेरै नविल बैङ्क लिमिटेडको पाँच करोड ७८ लाख ५५ हजार र शिवम् सिमेन्ट लिमिटेडको पाँच करोड ७८ लाख ३७ हजार रूपैया बराबरको शेयर कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने ग्लोबल बैङ्क लिमिटेडको प्रमोटर शेयर दुई लाख २३ हजार चार सय ३७ कित्ता किनबेच भएको छ ।
मा प्रकाशित