अर्थतन्त्र सुधार गर्न निजी क्षेत्र र सरकारबीच बलियो एकता आवश्यक प्रधानमन्त्री

आर्थिक परिवेश

२८चैत्र, काठमाडौ।  प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र र सरकारबीच बलियो एकता आवश्यक भएकाे बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारणसभालाई म‌गलवार काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले निजी क्षेत्र बलियो र सशक्त नभई मुलुक समृद्ध हुन नसक्ने भएकाले निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री  दाहालले आफूले निजी क्षेत्रको समस्या राम्ररी बुझेको भन्नुहुँदै  संकटोउन्मुख अर्थतन्त्रलाई सहज अवस्थामा ल्याउने  विषयमा  छलफल गरिरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नयाँ संविधान निर्माणपछि आर्थिक विकास र समृद्धिमा गुणात्मक फड्को मार्ने अपेक्षा गरिए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिका कारण अर्थतन्त्रले सङ्कटको सामना गरिरहेको धारणा राख्नुभयो ।

प्रधानमन्त्री  दाहालले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक एवं संवैधानिक अधिकारको रक्षा एवं प्रगतिशील कार्यान्वयनका लागिसमेत आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प  नभएको बताउनुभयो  ।

प्रधानमन्त्री दाहालले वस्तु उत्पादन, बजार व्यवस्थापन, रोजगारी सिर्जना, राष्ट्रिय आयको वृद्धि र मुलुकको समग्र विकासमा निजी क्षेत्रले उल्लेख्य भूमिका खेल्दै आइरहेको भन्नुहुँदै  लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका निमार्णका  निम्ति सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री दाहालले कृषि अर्थतन्त्रको मूल आधार भएकाले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई कृषिमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री दाहालले सरकारको नीति, कार्यक्रम तथा बजेटमा उत्पादन र निर्माणका क्षेत्रमा केही नयाँ र गुणात्मक प्रकृतिका योजनाहरू अगाडि बढाउने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारतर्फ उन्मुख भइरहे पनि पूर्णतः सङ्कटमुक्त भइनसकेकोले अर्थतन्त्रमा  सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको  सम्पूर्ण ध्यान अर्थतन्त्रलाई चलायमान बनाउनमा केन्द्रित रहेको भन्नुहुँदै निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

अर्थमन्त्री डा. महतले विदेशी मुद्रा सञ्चिती वृद्धि हुँदै जानु सकारात्मक भएको भन्नुहुँदै पुँजीगत खर्च बढाउने र साधारण खर्च आवश्यकताका आधारमा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालमा मात्र नभई विश्व अर्थतन्त्रमा समेत गिरावट आएको अवस्थामा मुलुकको आर्थिक स्थितिमा सुधार ल्याउन निजी क्षेत्र र सरकार हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले लोकप्रियता भन्दा पनि अर्थतन्त्रको दीर्घकालीन र अल्पकालीन  योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष गोल्छाले नेपाली उद्योगलाई सहुलियतमा बिजुली उपलब्ध गराउन र अर्थतन्त्रमा देखिएको विद्यमान समस्या समाधानका लागि सहजीकरण गर्न सरकारसँग आग्रह गर्नुभयो ।

मा प्रकाशित