४ बैशाख, काठमाडौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका केही व्यवधान तथा अप्ठ्याराहरुलाई सरकार र निजी क्षेत्र मिलेर हटाउनु पर्ने बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना दिन सोमवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा.महतले अप्ठ्यारो समय भएकोले सरकार र नीजि क्षेत्रले एक अर्कालाई सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन नसकेको भन्दै अर्थमन्त्री महतले सबै कुरामा सुधार ल्याउन र देशको समग्र क्षमता विकास गर्नु अहिलेको चुनौतिको विषय भएको बताउनु भयो ।
उहाँले बढ्दो साधारण खर्चले निम्त्याएको दायित्व, आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रसंगको तादम्यता मिलाउनु आवश्यक भएकोमा पनि जोड दिनु भयो ।
अर्थमन्त्री डा. महतले आर्थिक सूचकहरु अब सकरात्मक हुँदै गएकोले वर्तमान समस्याबाट माथि उठन निजी क्षेत्रले पनि वास्ताविक समस्या र सुझाव राख्न आग्रह गर्नु भयो ।
मौद्रिक नीतिका कारण उत्पन्न अप्ठ्यारालाई सम्बोधन गर्न सरकार तयार रहेको भन्दै अर्थमन्त्री डा. महतले ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरु लगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।