स्टक एक्सचेन्ज संचालनका लागि ३ र वस्तु विनिमय बजारका लागि ४ कम्पनीकाे आवेदन

आर्थिक परिवेश

११ बैशाख,काठमाडौ ।  धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज संचालनका लागि ३ र वस्तु विनिमय बजार(कमोडिटी मार्केट)सञ्चालनका लागि ४ वटा कम्पनीहरुको आवेदन परेको छ ।

नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन दिने आइतवार अन्तिम दिन रहेकोमा ७ वटा कम्पनीहरुको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ ।
त्यसै गरी कमोडिटी मार्केटका लागि मल्टि डेरिभेटिभ, मल्टी एसेटस उण्ड डेरिभेटिभ,हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ्स, नेपाल मल्टि डेरिभेटिभ्सले बोर्ड समक्ष आवेदन गरेका छन् ।

सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो ।

धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो ।

बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाई अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

तर उक्त मुद्दा सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन दिइसक्न भनेको थियो ।

मा प्रकाशित