वासिङ्टन । अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्त रूपमा सञ्चालनमा ल्याएको साइनसिक्स कम्पनीलाई राष्ट्रपति वाइडेनले सम्मान गर्नुभएको हो ।
साइनसिक्सलाई अमेरिकाको ‘स्मल विजनेश एड्मिनिस्ट्रेशन’ले ‘एक्सपोर्टर अफ दि इयर २०२३’ अवार्डबाट सम्मानित गरेको थियो ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति वाइडेनले सो अवार्ड प्रदान गर्नुभएको थियो ।
सन् १९८५ मा स्थापना भएको उक्त कम्पनीको स्वामित्व भण्डारी र पौडेल समूहले सन् २०२१ मा ग्रहण गरेको थियो । हाल उक्त कम्पनीमा २६ जना कर्मचारी कार्यरत छन् । यो अवार्ड नेपाली मूलका अमेरिकीलाई पहिलो पटक प्रदान गरिएको हो ।
अमेरिकामा साना तथा मझौला उद्योग तथा व्यवसायका रूपमा सञ्चालनमा आएका करिब तीन करोड ३१ लाख ८५ हजार कम्पनी रहेको तथ्याङ्क छ । यस्ता साना व्यवसायीले छ करोड १७ लाख जनालाई रोजगारी दिएका छन् । कम्पनीको पुँजी र रोजगारीका आधारमा साना तथा मझौला उद्योगका रूपमा वर्गीकरण गर्ने गरिन्छ ।
अमेरिकाको मिनासोटा राज्यमा कारखाना र साउथ क्यारोलिनामा रहेको प्रशासनिक भवनबाट सञ्चालित हुँदै आएको उक्त कम्पनीको अध्यक्ष डा भण्डारी हुनुहुन्छ भने श्रद्धाले ‘एडभाइजर टु दि प्रेसिन्डेन्ट’ र ‘मेन्टर’ को जिम्मेवारी सम्हाल्नुहुन्छ । साउथ डकोटा स्टेट् युनिभर्सिटीबाट विद्यावारिधि गर्नुभएका भण्डारीले हार्डवर्ड स्कुल अफ पब्लिक हेल्थमा अनुसन्धान सहयोगीका रूपमा एक वर्ष कामसमेत गर्नुभएको थियो ।
अवार्ड प्राप्त गरेपछि भण्डारी र पौडेलले ह्वाइ हाउसले व्यवसायीका रूपमा गरेको सम्मानबाट पहिलो नेपाली अमेरिकी बन्न पाउँदा आफ्नो कामले सफलता चुमेको टिप्पणी गर्नुभयो ।
अमेरिकी राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारीसको उपस्थितिमा सो समूह सम्मानित भएको थियो । “यस्तो अवार्ड प्राप्त गर्नु मेरा लागि गौरवको क्षण हो, यो मेरो र श्रद्धाका लागि जीवनकै महत्त्वपूर्ण समय हो”, पौडेलले भन्नुभयो ।
उहाँले भन्नुभयो, “भेटका क्रममा राष्ट्रपति वाइडेनसँग केही संवाद पनि भयो । राष्ट्रपति वाइडेनसँग मैले म नेपालबाट आएको एक आप्रवासी हुँ र मैले अमेरिकी सपनालाई पछ्याउँदै आएको छु भनेँ, राष्ट्रपति वाइडेनले नेपालका बारेमा जान्दछु”, भन्नुभयो ।
राष्ट्रपति वाइडेनले आप्रवासीले अमेरिकी भूमिमा रोजगारी सिर्जना गर्नुका साथै व्यवसाय विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको पनि उहाँले जानकारी दिनुभयो ।
त्यस अवसरमा उपराष्ट्रपति कमला ह्यारीसले पनि आफूहरूलाई हौसला प्रदान गर्नुभएको जानकारी दिँदै आप्रवासीको सफलताको कथाले आफूलाई खुसी बनाएको बताउनुभएको भण्डारीले बताउनुभयो ।
कास्की जिल्लाको लामाचौरमा जन्मिएका भण्डारी सन् २००४ मा र श्रद्धा सन् २००५ मा विद्यार्थी भिसामा अमेरिका आउनुभएको हो । अठार वर्ष अमेरिकामा बसेर प्रविधिमा आधारित उत्पादन र वितरणसँग जोडिएर काम गर्दा आफूहरूले यो सफलता हासिल गरेको उहाँहरूको भनाइ छ ।
यो नेपाली मूलकालाई मात्र नभएर सम्पूर्ण आप्रवासीका लागि पनि एउटा प्रेरणादायी क्षण भएको उहाँहरूको भनाइ छ । भावि पिँढीका लागि पनि मार्ग निर्देशक बन्न सकोस् भनेर आफूले हासिल गरेको ज्ञान, अनुभव र दक्षता विस्तार गर्ने पक्षमा आफूहरू रहेको उहाँहरूले बताउनुभयो ।
यो कम्पनीले औषधिको गुणस्तरमा परिमाणको मात्रा जाँच्नका लागि आवश्यक पर्ने उपकरणको मर्मत सम्भार गर्ने पार्टपुर्जा उत्पादन गर्ने गर्दछ । उक्त कम्पनीले ती पार्टपुर्जा अमेरिका र विश्वका एक सय देशमा निर्यात गर्दै आएको छ ।
मा प्रकाशित