
१६ कार्तिक,मेलबर्न,अस्ट्रेलिया। अस्ट्रेलियाकाे भिक्टाेरिया राज्यमा अवस्थीत मेलबर्नको दक्षिणपूर्वी क्षेत्रमा प्रस्तावित श्री पशुपतिनाथ मन्दिर आध्यात्मिक केन्द्र निर्माणका लागि नेपाली हिन्दू समाज अफ भिक्टोरियाले १० एकड जमिन किनेको छ।
क्रानबर्न साउथस्थित १९५–१९७ स्मिथ्स लेनमा रहेको उक्त जग्गा १७ लाख ८० हजार अस्ट्रेलियन डलरमा खरिद गरिएको समाजले जनाएको छ।
समाजका अनुसार जग्गा खरिदसँगै नेपाली हिन्दू समुदायका लागि स्थायी धार्मिक, सांस्कृतिक, शैक्षिक तथा सामुदायिक केन्द्र स्थापना गर्ने योजनाले अर्को चरणमा प्रवेश गरेको छ।
यद्यपि, मन्दिर तथा अन्य संरचना निर्माणको काम भने सुरु भइसकेको छैन। अब मास्टर प्लान र वास्तुकला डिजाइन, समुदायसँग परामर्श, आवश्यक योजना तथा विकास अनुमति, कोष संकलन र साझेदारीका काम अघि बढाइनेछ।
समाजले प्रस्तावित केन्द्रलाई पूजाआजा र धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी संस्कृति संरक्षण, बालबालिका तथा युवाको पुस्तान्तरण, समुदायको कल्याण र विभिन्न समुदायबीच सद्भाव बढाउने स्थलका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
योजना स्वीकृत भएमा त्यहाँ पूजा, ध्यान र धार्मिक कार्यक्रमका लागि स्थानसँगै नेपाली हिन्दू परम्परा, भाषा, चाडपर्व र सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्ने गतिविधि सञ्चालन गर्ने परिकल्पना गरिएको छ।
समाजका अध्यक्ष डा. राजु अधिकारीले जग्गा खरिदलाई नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धि बताउनु भयाे । उहाँले स्थायी आध्यात्मिक केन्द्रले नेपाली हिन्दू सम्पदा जोगाउन र भावी पुस्तालाई संस्कृति तथा सनातन धर्मबारे सिक्ने अवसर दिन सहयोग गर्ने बताउनु भयाे ।
उनका अनुसार परियोजनाको उद्देश्य मन्दिर निर्माणमा मात्र सीमित नभई समुदायको कल्याण र भिक्टोरियाको बहुसांस्कृतिक समाजमा सकारात्मक योगदान पुर्याउनु पनि हो।
समाजले यस उपलब्धिमा कार्यसमिति, संस्थापक सदस्य, साधारण सदस्य र व्यापक नेपाली समुदायको सामूहिक प्रयास रहेको जनाएको छ। स्थानीय निकाय, सरकारी निकाय, व्यवसायी, सामुदायिक संस्था, परोपकारी संस्था र व्यक्तिहरूबाट प्राप्त सहयोगप्रति पनि समाजले आभार व्यक्त गरेको छ।
महासचिव रमेश खड्काले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, जग्गा खरिद परियोजनाको सुरुवाती चरण हो। निर्माणको समयरेखा र अन्तिम स्वरूप आवश्यक योजना प्रक्रिया, समुदायसँगको परामर्श र सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि तय हुनेछ।
मन्दिर स्थापना गर्ने सपना सन् २०२१ तिर समुदायभित्र सुरु भएको थियो। संस्था १९ नोभेम्बर २०२२ मा भिक्टोरियाको संघसंस्था दर्तासम्बन्धी कानुनअनुसार औपचारिक रूपमा दर्ता भएको हो।
त्यसयता अस्थाले अस्थायी स्थलहरूमा धार्मिक समारोह, सामुदायिक प्रार्थना, सांस्कृतिक उत्सव र परोपकारी गतिविधि सञ्चालन गर्दै आएको खड्काले जानकारी दिनु भयाे ।
जग्गा खरिदले परियोजनाका लागि आधार तयार गरेको भए पनि निर्माणको समयरेखा र अन्तिम स्वरूप भने आवश्यक योजना प्रक्रिया, समुदायसँगको परामर्श र सम्बन्धित निकायबाट प्राप्त हुने स्वीकृतिपछि तय हुनेछ।
मा प्रकाशित