०२ जेठ, काठमाडाैं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनिय रुपमा घटाउने भएको छ ।
मे १७ मा मनाइन आईटियु डे २०२३ को अवसरमा भोलि (२०८० जेठ ३ गते) देखि लागु हुने गरी नयाँ महसुल दर कायम गरेको हो ।
नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिले भन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्ने छन् ।
नयाँ दर अनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट ७ रुपैयाँ मात्र शुल्क लाग्ने छ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट ७ रुपैयाँ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस ७ रुपैयाँ नै लाग्ने छ ।
हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा १४ रुपैयाँ र एसएमएस गर्दा रुपैयाँ २४ लाग्ने व्यवस्था छ ।
त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट ५० रुपैयाँ मात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट २५ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस १० रुपैयाँ लाग्ने छ ।
त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी रुपैयाँ ४० शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यस अनुसार प्रति एमबी करिव रु. ५ मात्र लाग्ने छ ।
अन्य देशमा जाँदा/रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ ।