२७ जेठ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेकाे एसियाली बीमा सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।
सम्मेलन समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्मेलनबाट विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक, बीमा मध्यस्थकर्ता र बीमा क्षेत्रका विज्ञहरू एउटै छातामुनी रहेर बीमा क्षेत्रका नयाँ नयाँ जोखिम र जोखिम न्यूनीकरणका विषयमा छलफल एवम् अन्तरक्रिया तथा आपसी अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।
अध्यक्ष सिलवालले जलवायु परिवर्तनका कारण चुनौतीहरू मात्र आउने नभई यसबाट बीमा क्षेत्रमा अवसरहरू समेत सिर्जना हुने भएकाले अवसरबाट लाभ लिनका लागि सम्वद्ध सबैले सामूहिकरूपमा कार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अध्यक्ष सिलवालले जोखिम व्यवस्थापन, बीमा क्षेत्रमा नवीनतम् प्रविधि र डिजिटल प्रणालीको महत्व, बीमाको पहुँच वृद्धि, नियामक निकायको क्षमता अभिवृद्धि लगायतका विषयमा भएका प्रस्तुती, छलफल एवम् अन्तरक्रियाहरू उपलब्धीमूलक भएको बताउनुभयो ।
यही जेठ २५ गतेदेखि २७ गतेसम्म भएको सम्मेलनमा बीमा क्षेत्रका नयाँ नयाँ जोखिम, जोखिम व्यवस्थापन, जोखिम व्यवस्थापनमा नियामक निकायको भूमिका, बीमा व्यवसायको विविधता, स्वच्छता र समावेशिता, लगायतका विषयमा छलफल भएकाे थियाे ।
त्यसै गरी नवीनतम् प्रविधि तथा डिजिटल प्रणालीको प्रयोग, बीमाको पहुँच वृद्धि, नियामक निकायहरूबीच सम्बन्ध सुदढीकरण तथा साझेदारी, जोखिममा आधारित पूँजी, कृषि बीमा लगायतका विषयहरूमा कार्यपत्र प्रस्तुती, छलफल एवम् अन्तरक्रियाहरू भएका थिए ।
तीन दिनसम्म भएको सम्मेलनमा नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, मकाओ, जोर्डन, मलेसिया, फिलिपिन्स, सिंगापुर, जापान लगायत देशका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे ।
सम्मेलनमा २० देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरू, बीमा क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारी, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, लघुबीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमाङ्की, बीमा ब्रोकर, बीमा विज्ञ र विभिन्न बीमा सेवा प्रदायक सङ्घ संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
मा प्रकाशित