२८ जेठ, काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा गएका एक हजारभन्दा बढिले मृत्यु भएको छ ।
वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको ११ महिनामा सातै प्रदेशका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक हजार ६३ जना श्रमिकको मृत्यु भएको हो ।
चालू आवमा मधेश प्रदेश र कोशी प्रदेशबाट मात्रै ४ सय ९४ जनाको मृत्यु भएको छ जसमध्ये १६ जना महिला श्रमिक रहेका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशबाट २ सय ३५, गण्डकी प्रदेशबाट एक सय ३९ श्रमिकले ज्यान गुमाएका छन् भने बाग्मती प्रदेशका एक सय २५, कर्णाली प्रदेश ५० र सुदूरपश्चिम प्रदेशबाट २० जना श्रमिकले ज्यान गुमाएका छन् ।
चालू आर्थिक वर्षमा ३ सय जना श्रमिक अङ्ग भङ्ग भएका छन् । अङ्ग भङ्ग हुनेमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रहेको सचिवालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै, कोशी प्रदेशबाट पुरुष ६३ र महिला ३ गरि ६६ जना वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले अङ्ग भङ्ग भएका छन् भने लुम्बिनी प्रदेशबाट ६५, गण्डकी प्रदेशबाट ५३, मधेश प्रदेश ५० ,बाग्मती प्रदेशबाट ४४ जना श्रमिक अङ्ग भङ्ग भएका छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट भने १२ जना र कर्णाली प्रदेशबाट १० जना श्रमिक अङ्ग भङ्ग भएको बोर्ड सचिवालयले जनाएको छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि भित्रै ज्यान गएमा बोर्डमार्फत हकवालाले ७ लाख रुपैयाँ आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ ।
बीमा गरेबापत भने १४ लाख पाउने व्यवस्था छ तर स्वदेश रहँदै मृत्यु भएमा भने १३ लाख मात्र पाइने व्यवस्था रहेको छ । बीमा कम्पनीबाटै १५ वटा घातक रोग लागेमा रु ५ लाख पाइने छ ।
मा प्रकाशित