असारका लागि बैंकको ब्याजदर स्थिर रहने

आर्थिक परिवेश

३० जेठ,काठमाडौँ ।   आगामी असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर रहने भएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स संघ (एनबीए) को मंगलबार बसेको बैठकले असारका लागि बैंकको ब्याजदर स्थिर राख्ने निर्णय गरेकाे हो ।

हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् भने मुद्दती निक्षेपमा ७.९९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् ।

सोही ब्याजदरलाई निरन्तरता दिने निर्णय भएको बैंकर्स संघका अध्यक्ष समेत रहेका एनएमबि बैकका प्रमुख कार्यकारी  अधिकृत  सुनिल केसीले  जानकारी दिनु भयाे  ।

तथापि, यता कर्जाको ब्याजदर भने घट्ने भएको छ । पछिल्लो समय बैंकमा निक्षेप बढ्दै गएका कारण घट्दो क्रममा रहेको अन्तर बैंकिङ ब्याजदर, लगानीको अभावका कारण बैंकहरुमा तरलता (लगानी योग्य पुँजी) थुप्रिन पुगेको छ ।

जसले बैंकहरुमाथि ब्याजदर घटाउनुपर्ने बाध्यता आइलागेको छ । सँगै केन्द्रीय बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा मार्फत १ प्रतिशतले बैंकदर घटाउँदै स्प्रेडदरलाई समेत ४.०२ प्रतिशतमा झार्नुपर्ने हुँदा कर्जाको ब्याजदर घट्ने भएको अध्यक्ष केसीले बताउनुभयाे  ।

हाल बैंकहरुले कर्जामा अधिकतम १२.०३ प्रतिशत ब्याजदर लिइरहेका छन् ।
मा प्रकाशित