हामी जहाँ, जुन अवस्थामा रहे पनि हाम्रो भाषा र संस्कृतिलाई उच्च बनाउने काममा लाग्नुपर्छ : प्रधानमन्त्री

आर्थिक परिवेश

असार १७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताउनुभएको छ।

आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।

बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मैले भनेको थिएँ– यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु।”

सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपीलसमेत गर्नुभयो।

हामी नेपाली र हाम्रो नेपालको पनि विश्वमा विशिष्ठ पहिचान रहेको छ । नेपालीलाई चिन्ने विविध विशेषतामध्ये हाम्रो अलौकिक, कला, भाषा, संस्कृति र सभ्यता पनि हो ।

विश्वको एक तिहाइभन्दा बढी जनसंख्याको आस्थाका धरोहर गौतम बुद्धको जन्मस्थल तथा वैदिक सनातन धर्म र संस्कृतिको उद्गमस्थल नेपालका हामी नेपाली त्यसैले पनि विश्वका सबैभन्दा धेरै भाग्यमानी नागरिक हौँ ।

त्यसैले पनि विश्व मानचित्रमा हाम्रो अलग र उच्च अस्तित्व रहेको छ । म जोड दिएर भन्छु– हामी एक पटकको नेपाली सधैँका नेपाली हौँ ।

तपाई हामी सबैले हामी जहाँ, जुन अवस्थामा रहे पनि हाम्रो भाषा र संस्कृतिलाई उच्च बनाउने काममा लाग्नुपर्छ भन्ने मेरो आह्वान हो । विश्वमा छरिएर रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई प्रधानमन्त्रीले आह्वान गर्नु  भएकाे छ ।

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्बर्धन एवं प्रबर्धनका उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरूबीच यसैगरी सांस्कृतिक, भाषिक र नेपाली नेपालीबीचको एकता कायम गर्न सकोस् भनी कामना पनि प्रधानमन्त्रीले गर्नु भएकाे छ ।

मा प्रकाशित