६ साउन, सल्यान । सल्यान जिल्लामा साउन पहिलो सातासम्ममा ९८ प्रतिशत धान रोपाई सकिएको छ ।
आकाशे पानीको भरमा लगाइने खेत र ढिलो बीउ राखेका केही खेतमा बाहेक अन्य खेतमा धान रोपाई सकिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
कृषि विकास कार्यालय सल्यानले जिल्लामा कहिकतै छिटफुट बाहेक अधिकांश क्षेत्रमा धान रोपाइ सकिएको जनाएको छ ।
कार्यालयका अनुसार गत वर्षको भन्दा यस वर्ष धान उत्पादनको क्षेत्रफल घटेको छ । गत वर्ष जिल्लामा ७ हजार १२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसबाट करिब ३० हजार ५ सय मेट्रिकटन धान उत्पादन भएको थियो ।
गएको वर्षको तुलनामा यस बर्ष २२ हेक्टर कम क्षेत्रफलमा धान रोपिएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशम कुमार बस्नेतले जानकारी दिनुभयो । यस बर्ष ६ हजार ९ सय ९० हेक्टरमा मात्रै धान खेती गरिएको छ ।
“जिल्लामा भएको धान उत्पादन हुने क्षेत्रमा पनि धान रोप्न छोड्ने क्रम बढ्दो छ, कतिपयले धान रोप्ने खेतमा मकै, तरकारी रोप्न थालेका छन् बजार क्षेत्र आसपासका खेतमा घर निर्माणदेखि घडेरी बनाएर बिक्री गर्ने क्रम बढ्दो छ, यसले गर्दा खेतीयोग्य जमिन नै मासिन थालेको छ”, उहाँले भन्नुभयो ।
किसानहरुले बढी मात्रामा रामधान, सुख्खा ३, सुख्खा १, कञ्चनलगायतका जातको धान रोप्दै आएका छन् ।
मा प्रकाशित