एमसीसी परियोजनाको कार्यान्वयन शुरु ५ बर्षमा सम्पन्न गर्ने पदाधिकारीहरुको प्रतिवद्धता

आर्थिक परिवेश

१३ भदौ, काठमाडौ ।  अमेरिकाको सहयोगमा संचालन हुने मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अर्न्तगतकाे एमसिसि कम्प्याक्ट परियोजना आज भदौ १३ गते बुधबारदेखि कार्यान्वयन शुरु भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गर्नु भयो ।

यो सँगै पाँच वर्षको समय तोकिएको एमसीसी परियोजना कार्यान्वयनमा आएको हो ।

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले परियोजना अन्र्तगत नेपालमा प्रमुख दुई पूर्वाधारहरु निर्माण गरिने भएकोले त्यसले नेपालको आर्थिक तथा पूर्वाधार क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।

उहाँले एमसीसी कम्प्याक्ट नेपाल आयोजना मार्फत भरपर्दो सडक निर्माण र विद्युत प्रसारणको माध्यमबाट नेपाली जनताले लाभ लिन सक्ने बताउनु भयो ।

कार्यक्रममा एमसिसिका उपाध्यक्ष क्यामेरोन अल्फोर्डले निर्धारित समयमा आयोजना सम्पन्न हुने विश्वास व्यक्त गर्दै आयोजना निर्माण सम्पन्न भएपछि नेपालको आर्थिक विकासमा सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत डिन थम्सनले आयोजना नेपालको दिर्घकालीन हित तथा आर्थिक विकासका लागि कोशेढुड.ा हुने बताउनु भयो ।

अर्थ सचिव एवं एमसिए–नेपाल सञ्चालक समिति अध्यक्ष अर्जुनप्रसाद पोखरेलले नेपालको विद्युत् व्यापारमा लागि प्रसारण आयोजना महत्वपूर्ण रहेको बताउनुभयो ।

जग्गा अधिग्रहणको काममा शीघ्रता दिएर चाँडै सक्ने र परियोजना कार्यान्वयनका क्रममा अनुगमनको काम प्रभावकारी ढङ्गले गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

एसीए नेपालका कार्यकारी निर्देशक खडकबहादुर विष्टले नेपाल सरकारको निर्देशन एवं एमसिसिको सहयोगबाट निश्चित बजेट र समयावधीमा आयोजना सफलतापूर्वक सम्पन्न गर्ने बताउनु भयो ।

परियाेजनाकाे शुरूवात 

नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो ।

नेपाल र अमेरिका सरकारको एमसीसीबीच ५० करोड अमेरिकी डलर अनुदान सहयोग लिने र पूर्वाधार आयोजना बनाउने भनेर २०७४ सालमा सम्झौता भएको थियो ।

समझौता बमोजिम नेपाल सरकारले १३ करोड ७ लाख अमेरिकी डलर बेहोर्ने गरी ६९ करोड ७ लाख अमेरिकी डलरको लागतमा आयोजना सम्पन्न गरिने लक्ष्य रहेको छ ।

परियाेजना अन्रर्तगत गरिने काम  

एमसीसी परियोजना अन्तर्गत काठमाडौको लप्सी फेदीदेखि नुवाकोटको रातामाटेसम्म तथा रातामाटेदेखि दमौली तनहु र दमौलीदेखि बर्दघाट, बुटवल हुदै भारतीय सीमासम्म पुग्ने ४ सय केभीए क्षमताको एक डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ ।

त्यसै गरी नुवाकोटको रातामाटेदेखि मकवानपुरको हेटौंंडासम्म पुग्ने ४ सय केभिए क्षमताको अर्को डबल सर्किट प्रसारण लाईन पनि निर्माण हुनेछ ।
दुबै प्रसारण लाइनको दुरी ३ सय १५ किलोमिटर हुने एसीए नेपालका प्रवक्ता राजिव दाहालले जानकारी दिनु भयो ।

आयोजना अन्र्तगत पूर्व पश्चिम महेन्द्र राजमार्गको दाड.को धानखोलादेखि शिब खोलासम्मको ४० किलोमिटर सडक गुणस्तरीय अत्याधुनिक प्रविधिको प्रयोग गरी निर्माण सम्पन्न गर्ने योजना रहेको एमसिए नेपालले जनाएको छ ।

 

मा प्रकाशित