१४ कार्तिक, नेपालगंज । चाडबाड शुरू भए संगै भारतबाट नेपालमा केराकाे आयात अत्यधिक मात्रामा बढेकाे छ ।

दशै तिहार तथा छठका लागि भनेर नेपालमा भारतीय केरा भित्रिने क्रम बढेकाे विभिन्र भन्सार कार्यालयहरूले जनाएका छन् ।

यस अघि चालु आर्थिक वर्षको दुइ महिना सम्ममा नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको केरा नेपालमा आयात भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चाडपर्वको सिजन भएका कारण यी दुई महिनामा केरा आयात अत्यधिक हुने गरेको छ । यो अवधिमा २४ सय ६६ मेट्रिक टन केरा आयात भएको हो ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले यहाँबाट आयात भएको केरा देशका विभिन्न बजारमा पुग्ने गरेको बताउनुभयो ।

स्थानीय बजार मात्र नभई बर्दिया, सुर्खेत, दाङ र नारायणगढसम्म केरा खपत हुने गरेको छ ।

नेपालगन्जलगायत यस क्षेत्रमै फलफूल उत्पादनको अवस्था न्यून छ । केरा उत्पादनका लागि कृषकहरू उत्साहित भए पनि भारतबाट आउने सस्तो मूल्यका केराका कारण उनीहरू टिक्न सकिरहेका छैनन् ।

स्थानीय उत्पादन बढाउन कुनै चासो नदिँदा केरामा मात्र यतिका रकम बिदेसिएको छ । नेपालगन्ज नाका हुँदै अन्य फलफूलसमेत आयात हुँदै आएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।

स्वदेशी केरा उत्पादक कृषकहरूले भारतबाट आउने केरा तत्काल रोक्नुपर्ने माग राख्दै आएका छन् ।भारतबाट आयातीत केरा रोग तथा विषादी परीक्षण समेत नगरी भित्रिने गरेको छ ।

भारतबाट विश्व व्यापार सङ्गठनको मापदण्ड पूरा नगरी केरा आयात हुने गरेको कृषकहरूको भनाइ छ । यसबाट नेपाली केरा कृषकको करोडौँको नोक्सानी हुने अवस्था सिर्जना भएको छ ।

कृषिजन्य वस्तु उत्पादन गरी राज्यलाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य अनुरूप केरामा आत्मनिर्भरउन्मुख रहेको अवस्थामा निर्बाध रूपमा केरा आयात हुँदा व्यवसायीका साथै राज्यले समेत नोक्सानी व्यहोर्नुपरेको व्यवसायीहरूको भनाइ छ ।

बाँके र बर्दिया जिल्लामा ४ हजार कृषकले २ हजार ५ सय हेक्टरमा व्यावसायिक केरा खेती गरिरहेका छन् । यहाँ वार्षिक रूपमा झन्डै ९५ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको अगुवा कृषक देवेन्द्र अधिकारीले बताउनुभयो।

निर्बाध रूपमा भारतबाट केरा आयात गरिएकाले जिल्लामा उत्पादन भएको केरा बिक्री वितरण हुन नसक्दा कृषकहरूको लिएको ऋण डुब्ने खतरा रहेको कृषकका अगुवाहरूको गुनासो रहेको छ।