२७, कात्तिक, काठमाडौं । मुस्ताङ जिल्लामा रहेको नेपाल चीन व्यापारिक कोरला नाका साढे तीन वर्ष पछि पुनः सञ्चालनमा आएको छ । कोभिड महामारी सुरु भएपछि २०७६ चैतमा उक्त नाका बन्द गरिएको थियो ।
सोमबार नेपाली समय अनुसार बिहान १० बजे र चिनियाँ समयअनुसार दिउँसोको पौने २ बजे नेपाल चीन नाका दुईतर्फी खुल्ला भएको हो ।
नाका रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई स्वागत गरेर चिनियाँ पक्षले नाका खुलेको औपचारिक घोषणा गरेको थियो ।
प्रमुख जिल्ला अधिकारीसहित, गाउँपालिका अध्यक्ष र स्थानीय केही व्यक्तीहरू साेमवार तीन वर्ष ७ महिनापछि कोरालानाकाबाट चीनतर्फ प्रवेश गरेर त्यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी भएको लोमान्थाङ गाउँपालिकाका सूचना अधिकारी बिकास केसीले जानकारी दिनुभयाे ।
‘मुस्ताङमा रहेको नेपाल चीन कोरला नाका साेमवारबाट औपचारिक रुपमा दोहोरो रूपमा सञ्चालनमा आएको छ,’ केसीले भने, ‘यस अघि वर्षमा २ पटक पटके व्यवसायका लागि मात्र खुल्ने साे नाका अब १२ महिना नै खुल्ने गरी पुनः सञ्चालनमा ल्याइएको चिनियाँ पक्षले बताएकाे छ।’
उनका अनुसार अहिले चिनियाँ नाकामा आयोजना भइरहेको चियापान कार्यक्रममा नेपाली जनप्रतिनिधिहरु सहभागी भइरहेका छन् ।
एक लाख किलो खाद्यान्न सहयोग
लामो समयपछि नाका खुलेको खुसियालीमा चिनियाँ पक्षले नेपालीहरु एक लाख किलो खाद्यान्न सहयोग गरेका छन् । नाका खुल्ने अघिल्लो दिन आइतबार चिनियाँ पक्षले स्थानीय पालिकाका बासिन्दाका लागि भनेर नुन, चिया, पिठोलगातका खाद्यान्न सहयोगमा पठाएको सूचना अधिकारी केसीले जानकारी दिनु भयाे ।
१५ वटा ट्रकमा रहेको ती खाद्यान्न उच्च हिमाली भेगका स्थानीको विशेष प्रकारको खानाका लागि प्रयोग हुने र यो सांस्कृतिक आदान प्रदानको रुपमा सांकेतिक सहयोगको रुपमा प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
मा प्रकाशित