०६पुष, बेलबारी (मोरङ) । मोरङ जिल्लामा तोरी खेतीप्रति किसानको आकर्षण बढेको छ ।
जिल्लामा गत वर्षभन्दा यस बर्ष एक हजार हेक्टरभन्दा धेरै जमिनमा तोरी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा कूल खेतीयोग्य जमिन एक लाख ११ हजार छ सय ९५ हेक्टर क्षेत्रफल छ ।
गत वर्ष ११ हजार पाँच सय हेक्टर जमिनमा किसानले तोरी लगाएकामा आठ हजार ५० मेट्रिक टन तोरी उत्पादन भएको थियो ।
यस वर्ष क्षेत्रफल वृद्धि गर्दै १६ हजार चार सय ७४ हेक्टर जमिनमा तोरी लगाइएको केन्द्रका प्रमुख रामदेव सिंहले बताउनुभयो ।
जिल्लाको १७ पालिकामध्ये कानेपोखरी गाउँपालिकामा सबैभन्दा धेरै तोरी लगाउने गरेको उक्त केन्द्रले जनाएको छ ।
यस वर्ष कानेपोखरीमा तीन हजार छ सय हेक्टरमा जमिनमा तोरी लगाइएको ।
केराबारी गाउँपालिकामा एक हजार, ग्रामथान गाउँपालिकामा एक सय हेक्टर जमिनमा तोरी लगाइएको उक्त केन्द्रले जनाएको छ ।
यस वर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन बढ्न सक्ने प्रमुख सिंहले बताउनुभयो । “पर्याप्त सिँचाइ सुविधा हुने हो भने गत वर्षभन्दा यस वर्ष उत्पादन बढ्ने थियो”, बेलबारी ९ का किसान नरबहादुर कटुवालले भन्नुभयो ।
नेपालमा लगाइने बालीमध्ये छैटौँ बालीको रूपमा तोरी बालीलाई लिइने गरिन्छ । उत्पादन र क्षेत्रफलको हिसाबले यो छैटौँ बाली हो । धान, मकै, गहुँ, कोदो, कोसेबालीपछि तोरीलाई लिने गरिएको छ ।
मा प्रकाशित