२० माघ, गलकोट (बागलुङ) । बागलुङ जिल्लाकाे सुन्तलाकाे गाउँका रूपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर तीन करोड रूपैया गाँउमा भित्राएका छन् ।
गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ थियो । यस वर्ष उनीहरूले गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए । बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मूल्य प्रतिकेजी रु ५० पर्न गएको छ ।
यस वर्ष उत्पादित यहाँको सुन्तला ९० प्रतिशत बजार पुगिसकेको छ । गणेश कृषि व्यावसायिक सहकारीमार्फत सुन्तलाको बजारीकरण समेत हुँदै आएको छ ।
बागलुङ नगरपालिका–८ सिगानाका किसानले सुन्तला बिक्रीबाट तीन करोड भित्राउन सफल भएका हुन् । सहकारीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत वर्ष सुन्तला बिक्रीबाट रु दुई करोड ७५ लाख भित्राइएको थियो ।
यस वर्ष तीन करोड ५० लाखको सुन्तला बिक्री गर्ने लक्ष्य रहेपनि मूल्य वृद्धि नहुँदा करिब तीन करोडको मात्रै बिक्री भएको किसानले बताएका छन् ।
आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गर्नुभएका अनन्तबहादुर खड्काले यस वर्ष पाँच लाख ५० हजारमा सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताउनुभयो ।
उहाँले यस वर्ष सुन्तलाको उत्पादन बढेपनि मूल्य भने पोहरकै भएकाले आम्दानी पनि उस्तै भएको बताउनुभयो ।
सिगानाका किसानले न्यूनतम २५ हजारदेखि अधिकतम पाँच लाखसम्म सुन्तलाको बिक्री गर्दै आएका छन् । खड्काका अनुसार पोखरा, चितवन, नारायणगढ र धादिङका व्यापारीले यहाँका सुन्तला बोटबाटै टिपेर लैजाने गरेका छन् ।
बगैँचा विस्तार र मलजलको उचित व्यवस्था भए सुन्तलाको उत्पादन राम्रो हुने उहाँको भनाइ थियो ।
यसवर्ष सुन्तलाको दाना राम्रो फलेको भन्दै किसान रामबहादुर खड्काले अधिकांश किसानले बोट नै ठेक्कामा दिएका बताउनुभयो । उहाँका अनुसार नयाँ सुन्तला बगैँचा बढिरहेकाले यहाँका किसानले वार्षिक ५० लाखका दरले उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएका छन् ।
सिगानामा १२ हजारभन्दा बढी सुन्तलाको बोटले उत्पादन दिइराखेका छन् भने ४० हजारभन्दा बढी नयाँ बिरुवा हुर्किरहेका छन् ।
सुन्तला जोन क्षेत्रमा समेटिएको सिगानामा छ वर्ष अघिदेखि व्यावसायिक सुन्तला खेती वृद्धिका लागि अन्य रुख फडानी गर्ने अभियान वडा कार्यालयले चलाएको थियो । अहिले प्रतिकिलो होलसेल मूल्य ५० देखि ६० का दरले बिक्री भइरहेको छ ।
सिगानाको बेसी, वडा कार्यालय क्षेत्र, बाँस्कोटलगायत स्थानमा अधिकांश जमिन सुन्तला खेतीले ढाकेको छ । सिगानासँगै बागलुङको बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, सर्कुवा र दमेकलगायत स्थान सुन्तला खेतीका लागि उर्बर मानिन्छन् ।
जिल्लामा करिब पाँच हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार समग्र जिल्लामा यस वर्ष रु २० करोडको सुन्तला उत्पादन भएको छ ।
मा प्रकाशित