०४ फागुन, काभ्रेपलाञ्चोक । राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेपलान्चोक जिल्ला कृषि एवम् पशुजन्य उत्पादन र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ ।
वृहत् काभ्रेपलान्चोक कृषि महोत्सवको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यहाँका उद्यमीहरू कृषि कार्यप्रतिको आकर्षण तथा रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायमा लागेको बताउनुभयो ।
उहाँले कृषिजन्य व्यवसायमा व्यापकता अभिवृद्धिमा यस महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले बढ्दो शहरीकरणको प्रभावबाट छायाँमा परेका पौष्टिक महत्व भएको हाम्रो मौलिक उत्पादनबारे जनचेतना र जागरण अभियान चलाउन आवश्यक रहेको उल्लेख गर्नुहुँदै यसको उत्पादनलाई बढावा दिनेतर्फ पनि उत्तिकै ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।
उहाँले विविध भौगोलिक संरचना भएको हाम्रो देशमा तराई क्षेत्रमा गहुँ, धान र उखु उत्पादन तथा पहाडी क्षेत्रमा चिया, सुन्तला, कफी, जैतुन, किवी, ड्रागन फ्रुट, एभोकाडो जस्ता हाई भ्यालु फ्रुटको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ र ओखर खेतीको विकास गर्दा कृषि क्षेत्रको सन्तुलित विकासलाई मद्दत पुग्ने भन्नुहुँदै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताउनुभयो ।
उहाँले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो ।
निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य छ भन्नुहुँदै राष्ट्रपति पौडेलले मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिक रुपमा समृद्ध नेपालको निर्माण गर्न सकिने बताउनुभयो ।
उहाँले विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै बिउ विजन र मलको आपूर्ति, नवीनतम औजार, उपकरण, यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
आजदेखि सुरु भएको महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवका लागि बनेपास्थित करुणा मार्ग र लायकु क्षेत्र कृषि उपर र कृषि औजारले सजिएको छ ।
महोत्सवमा कृषि उपज, यन्त्र उपकरण लगायतका दुई सयभन्दा बढी स्टल रहेका छन् ।
काभ्रे कृषि एवं पशुजन्य उत्पादन, र बजारमुखी उत्पादनको दृष्टिले अग्रणी जिल्लाको रुपमा परिचित छ ।
कृषकहरूले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरूको कारोबारमा वृद्धि ल्याउने, कृषकलाई आवश्यक पर्ने उत्पादन सामाग्री एवं नयाँ प्रविधिप्रति आकर्षण बढाई उत्पादन लागत घटाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
कृषिका उदीयमान नवीनतम प्रविधि तथा वित्तीय साक्षरता सम्बन्धी सेमिनार आयोजना, रैथाने बाली एवं प्रविधिहरूको प्रदर्शन, स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर महोत्सवका प्रमुख आकर्षण हुन् ।
महोत्सवले कृषि पेसाप्रति आकर्षण बढाई वैदेशिक रोजगारीका लागि बिदेसिने युवाहरूलाई नेपालमा नै रोक्न सहयोग पुर्याउने विश्वास लिइएको आयोजक जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले बताउनुभयो ।
मा प्रकाशित