०९ बैशाख, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको नौ महिनामा नेपालले कुल एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार बराबरको सामान निर्यात गरेको छ ।
यो अवधिमा भटमासको तेल मात्रै ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार बराबरको निर्यात भएको छ । अर्थात् नेपालले गर्ने कुल निर्यात रकमको एक तिहाई भटमास तेलको निर्यातबाट आइरहेको छ ।
त्यस्तै, अहिले नेपालले बढी निर्यात गरेका वस्तुको दोस्रो स्थानमा सूर्यमुखी तेल छ । नौ महिनामा नौ अर्ब २३ करोड २७ लाख ६० हजार बराबरको सूर्यमुखी तेल निर्यात भएको छ । यसमा पनि अर्धप्रशोधित सूर्यमुखी तेल आयात गरेर त्यसलाई प्रशोधन गरी भारत निर्यात गर्छ ।
भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीका अनुसार दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता साफ्टाको सुविधाका रुपमा नेपालका व्यवसायीहरूले खाने तेलमा एक तहको प्रशोधन र मूल्य अभिवृद्धि गरी लाभ पाएका छन् ।
भारतले तेस्रो मुलुकबाट आयात गर्ने तेलमा बढी भन्सार लाग्ने तर नेपालले साफ्टा सुविधाअन्तर्गत भन्सार छुट पाउने भएका कारण सस्तो मूल्यमा तेल निर्यात गर्न सम्भव भएको हो ।
विगतमा पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेको थियो । तर २०७७ पुसमा नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेको थियो । त्यसयता भटमासको तेलको निर्यात बढ्दै गएको देखिन्छ ।
प्रशोधित तेलको निर्यात बढेसँगै नेपालको समग्र निर्यातको अङ्कसमेत बढेको देखिएको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मात्र निर्यात ६५ दशमलव १६ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको चैत मसान्तसम्मको कूल निर्यात रू एक खर्ब १३ अर्ब ९४ करोड बराबर थियो । जबकि चालु आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख बराबर पुगेको छ ।
नेपालले निर्यात बढी गरेको अन्य वस्तुहरूमा कार्पेट, धागो, चियालगायत छन् । यो अवधिमा कार्पेट आठ अर्ब नौ करोड ७५ लाख ३५ हजार बराबरको निर्यात भएको छ भने अलैँची रू छ अर्ब २६ करोड नौ लाख बराबरको निर्यात भएको छ ।
चालु आवको तेस्रो त्रैमाससम्ममा मुलुकले कुल १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाखको वैदेशिक व्यापारमा ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाखको घाटा व्यहारेको छ ।
। यो अवधिको कुल वस्तु निर्यात रू १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख बराबरको छ । नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ शीर्ष स्थानमा छ ।
पछिल्लो नौ महिनामा रू ९१ अर्ब २६ करोड तीन लाख बराबरको डिजेल रु ४७ अर्ब ७७ करोड ६४ लाख बराबरको पेट्रोल र रू ४६ अर्ब ५८ करोड ७० लाख बराबरको एलपी ग्यास आ यात गरेको छ ।
त्यस्तै, नेपालले बढी आयात गर्ने वस्तुहरूमा पनि कच्चा ९क्रुड० भटमास तेल र कच्चा सूर्यमुखी तेल पनि पर्दछन् ।
गत साउन देखि चैत मसान्तसम्ममा ६६ अर्ब पाँच करोड रूपैया बराबरको अर्धप्रशोधित सोयाबिन तेल र २२ अर्ब ६४ करोड बराबरको अर्धप्रशोधित सनफ्लावर तेल आयात भएको छ ।
नेपालले बढी आयात गर्ने अन्य वस्तुहरूमा फलाम तथा फलामजन्य वस्तु, स्मार्टफोन, सुन, विद्युतीय सवारी साधनलगायत छन् ।
नौ महिनामा ३७ अर्ब ८९ करोड बराबरको फलाम तथा फलामजन्य वस्तु, २५ अर्ब ३८ करोड रूपैया बराबरको स्मार्टफोन र १० अर्ब ९४ करोड ७९ लाख रूपैया बराबरको विद्युतीय सवारीसाधन आयात भएको हो ।
मा प्रकाशित