बैंंकहरूसँग पर्याप्त तरलता रहेकाले बैंकिङ प्रणालीमा समस्या छैन : अध्यक्ष केसी

आर्थिक परिवेश


१२ फागुन,बनेपा ।  नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताउनु भएकाे छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेको र निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन गर्नै नसकिने अवस्था नरहेको भन्दै बैंकिङ अहिलेको अवस्थामा कुनै पनि बैंक डुब्ने अवस्था नदेखिएको बताए ।

बैंकहरूसँग सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात समेत गर्दा १७/१८ खर्ब तरल सम्पत्ति रहेकाले बैंकिङ प्रणाली मात्रै नभएर अहिले सबै कुनै पनि बैंकमा समस्या नरहेको बताए ।

‘बैंकहरूले सरकारी ऋणपत्र र बन्डहरूमा साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन् । यसबाहेक सीआरआर र एसएलआर गरेर १७/१८ खर्ब तरल सम्पत्ति छ,’ उनले भने, ‘पछिल्लो समय बैंकहरू डुब्ने लागेको केही व्यक्तिको अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका छन् ।

तर, बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या छैन ।’ बताउँदै उनले बैंकहरू सबल र सुरक्षित रहेको बताउनु भयाे ।

यसबाहेक ५ लाखसम्मको निक्षेपको बिमा पनि हुने भएको भन्दै पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको उनले बताए ।

प्रायःजसो बैंकहरू तरलता अभावका कारण डुब्ने अवस्था हुने भन्दै नेपालको सन्दर्भमा तरलताको हिसाबले बैंकहरू सबल अवस्था रहेको केसीले बताए । उनका अनुसार पछिल्लो १० वर्षको तुलनामा यतिबेला बैंकिङ प्रणालीमा तरलता सबैभन्दा सहज अवस्था पुगेका छौं ।

‘प्रायः बैंक क्षेत्र तरलताका कारण डुब्ने अवस्थामा पुग्छ । जस कारण हामी एकदमै सबल अवस्थामा छौं,’ उनले भने, ‘अहिले बैंकिङ प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको अवस्था छ । २८ प्रतिशत खुद तरल सम्पत्ति छ । यसले बैंकहरूमा तरलताको आधारमा सुरक्षित रहेको देखाउँछ ।’

साथै, केही बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ८० प्रतिशत रहेको र केही बैंकको ७५/७६ को प्रतिशत हुँदा केहीको ८३/८४ प्रतिशत रहेको भन्दै उक्त अनुपात राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको तुलनमा धेरै सहज रहेको केसीकाे भनाइ थियाे । ।

कार्यक्रममा  नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले  पछिल्लो समय बैंकिङ सेक्टरमाथि केही व्यक्ति र समूहले प्रहार गरिरहेको बताउनु भयाे ।

पारदर्शी रहेको बैंकिङ क्षेत्रलाई केही व्यक्ति र समूहले प्रहार गरिरहनु न्योचित हुँदैन,’ उनले भने, ‘दक्षिण एसियामा नेपालको बैंकिङ क्षेत्र सबल छ ।

बेला-बेलामा आएका भूकम्प, नाकाबन्दी र कोभिडजस्ता समस्या पनि आए । त्यस्तो परिस्थितिमा केन्द्रीय बैंकले विभिन्न सहज गरिदिएको अवस्था थियो ।’

परिस्थितिका कारण बैंकिङ क्षेत्रमा केही असर परेका बेलामा गलत हल्ला फैलाएर बैंकिङ क्षेत्रमाथि प्रहार गर्नु कत्तिको उपयुक्त हुन्छ ? उनले प्रश्न गरे । यस्तो हल्ला चिर्न मिडिया र सरकारले पनि महत्त्वपूणर् भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले बैंकिङ संवेदनशील क्षेत्र रहेकोले कसैले पनि व्यक्तिलक्षित भई सिस्टममाथि प्रहार गर्न नहुने धारणा राख्नु भयाे ।

अर्थतन्त्रको चार वटामध्ये बैंकिङ क्षेत्र एक रहेकाेले  बैंकिङ क्षेत्रममा समस्या आए त्यसले सम्रग अर्थतन्त्र नकारात्मक प्रभाव देखिने उनको भनाइ छ ।

मा प्रकाशित