गुन्द्रुकले सरकारी मान्यता स्वदेश तथा विदेशमा बिक्रीका लागि बाटो खुल्याे

आर्थिक परिवेश

मकवानपुर । हेटौँडामा उत्पादन भएको गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेसँगै  जिल्लाभित्र र बाहिरी शहरमा बिक्रीका लागि बाटो खुलेको छ ।

हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा–१२ घलेगाउँ स्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन थालेको अर्ग्यानिक गुन्द्रुकले प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो ।

लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

उपमहानगरको लगानीमा सञ्चालित तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो ।

करिब चार महिना लामो परिक्षण र निगरानी पश्चात् खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञा पत्र दिएको उपमहानगरपालिको उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलले बताउनुभयो ।

उपमहानगरपालिकाको १ लाख रुपियाँ बाट थालेको अर्ग्यानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृति पाउँदा आफूहरू निकै खुशी भएको उद्यमी समूहका अध्यक्ष चिनीमाया गुरुङले बताउनुभयो ।

नगरपालिकाको पैसा र सहकारीको ८० हजार रुपियाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाई गुन्द्रुकको उत्पादनमा लागेको उहाँले बताउनुभयो ।

उद्यमी समूहलाई अनुज्ञा पत्र हस्तान्तरण गर्दै मेयर मीनाकुमारी लामाले हेटौँडामा उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

उपमहानगरपालिकाका आर्थिक विकास समितिका संयोजक एवम् वडा नम्बर १८ का अध्यक्ष अनिल बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी लगायतको उपस्थिति थियो ।

मा प्रकाशित