०३ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साेमबार नागढुंगा सुरुङमार्गमा पुगेर ‘स्वीच अन’ गरेसँगै धादिङ र काठमाडौं दुवैतर्फबाट सुरुङ छिचोलिएको छ।
याे सँगै नेपालकाे पहिलाे यातायात सुरुङ मार्गबाट एक वर्षपछि काठमाडौं भित्रन र बाहिरिन सहज हुनेछ।
सुरुङमार्गकाे लम्बाइ २ हजार ६ सय ८८ मिटर छ। सोमबार दुई मिटर खनेपछि वारपार छिचोलिएको हो।
सुरूको सम्झौताअनुसार काम थालिएको ४२ महिनाभित्र अर्थात् गत वर्ष बैशाखमै यो आयोजनाको निर्माण पूरा भइसक्नुपर्ने थियो। आयोजना निर्माण सुरु भएको ५३ महिना बितिसकेको छ।
कोरोना महामारी, स्थानीय विवाद तथा सुरूङ खन्ने क्रममा देखिएको प्राविधिक समस्यालगायत कारण आयोजना एक वर्ष पछि धकेलिएको थियो। पछिल्लो पटक थपेको म्याद पनि अबको १० दिनभित्र सकिँदैछ। आयोजनाले अब एक वर्ष म्याद थप गर्न माग गरेको छ।
आयोजनामा अन्डरपास, बक्स कल्भर्ट, एउटा ओभरपास निर्माण सकिएको छ। एउटा फ्लाइओभर निर्माणाधीन अवस्थामा छ। सुरूङको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ।
निर्माणको जिम्मा हाजमा एण्डो कर्पोरेसनले पाएको थियाे। लामो रस्साकस्सीपछि काठमाडौं जोड्न पहिलो सुरुङ मार्ग निर्माण भएपछि नागढुंगा उकालोमा हुने घण्टौँको ट्राफिक जामको समस्या हल गर्न मदत हुनेछ।
सरकारले १६ अर्ब रुपैयाँ जाइकासँग ऋण लिएर बनाउन थालेको सुरुङ निर्माणमा कुल २२ अर्ब रुपैयाँ खर्च हुने छ। उक्त आयोजनामा ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्ची सकेकाे छ।
यसअघि १४ मिटर सुरुङ खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत माग राखेर एक महिना काम ठप्प पारेका थिए। जसका कारण गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने समय तालिका प्रभावित भएको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्थानीयसँग नौ बुँदे सहमति भएपछि यही चैत ६ देखि पुनः निर्माण सुरु भएको थियो। अब भने सुरुङको काम सकिएर आज बैशाख ३ सोमबार ब्रेकथ्रु भएको हो।
सुरुङपछि मुख्य सडक साढे ७ किमि छोटिनेछ। मुख्य सुरुङको दुरी २ हजार ६ सय ८८ मिटर छ। आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भइसकेको छ। थानकोटमा फ्लाइओभर निर्माणाधीन छ।
सुरुङबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र मोटरसाइकल चल्न पाउने छैनन्।
सम्झौताअनुसार आयोजनाको समयावधि २०८० बैशाखमा सकिएको हो। उक्त समयभित्र काम नसकिएपछि २०८१ बैशाख १३ सम्मलाई म्याद थपिएको छ। २०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो ।
मा प्रकाशित